बागमतीसँग आर्मी पराजित

काठमाडौं– बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबलाई  १० रनले हराएकाे छ ।

२६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मी १७ बल बाँकी छँदा २५६ रनमा समेटियाे । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक बनाएपनि टिमलाई जिताउन सकेनन्। विनोदले ११४ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै ११९ रन बनाए । त्यस्तै, लोकेश बमले ४६ र करण केसीले २४ रन बनाए। बागमतीका आरियो पौडेलले पाँच र रामनरेश गिरीले दुई विकेट लिए।

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा सबै विकेटको क्षतिमा २६६ रन बनाएको थियो। बागमतीका लागि पारस खड्काले शतक बनाए। पारसले १३३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतकसहित ११९ रन बनाएका थिए। त्यस्तै, नन्दन यादवले २५ बलमा पाँच चौका र एक छक्कासहित ४२ रनमा अविजित रहे।

शुन्य रनमै पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीका कप्तान ६ रनमा आउट हुँदा जम्मा ११ रन थियो। त्यसपछि तेस्रो नम्बमा आएका पारस र इशान पाण्डेले टिमलाई उकासे। इशानले २६ रन बनाउँदा आदिल खानले २१ रन बनाए। बलिङतर्फ सोमपाल कामीले पाँच विकेट लिए।

प्रतिक्रिया