मेयर कप ब्याडमिन्टन सुरु

काठमाडौं । प्रथम साइनो खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साइनो स्पोर्टस्को आयोजनामा जारी भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ बर्ष माथि) बी र सी लेबल गरी कुल ६ विधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल र युगलमा विजयी शीर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै पुरुष एकलमा क्वार्टरफाइनसम्म पुग्ने खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । महिला एकलतर्फ शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ पाउने आयोजकले जानकारी दिएको छ । भेटरानतर्फ विजयी शीर्ष तीनले ४०, २५ र २० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन बुधबार कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले विजयी सुरुवात गरेका छन् ।

देवराजले आयोजक साइनोका सुजन थापालाई २१–१४ को समान अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन् । यस्तै पविनले बुटवलका प्रतीक अर्याललाई २१–७ र २१–८ ले पराजित गरे ।

त्यस्तै, सेनाका सन्तोष पनेरुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रतिक श्रेष्ठलाई २१–३ र २१–५, गोकुल जोराले एनआएएन दुबईका साहिल चन्दलाई २१–५ र २१–१०, रुकेश महर्जनले काठमाडौं ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१–१३, २१–१० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर पाए। सरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८–२१, २१–११ र २१–१८, नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१–१९, २२–२०, सेनाका आयुष्मान नागरीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर पाए ।

सुर्खेतका नरेन्द्र बलले काठमाडौं ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१–१६, २१–१५, सेनाका भोजबहादुर गुरुङले चण्डोलका शिव थापालाई २३–२१, २१–१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१–१५, २१–१० ले पराजित गरे ।

प्रतिक्रिया