काठमाडौंलाई पराजित गर्दै पुलिस फाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर एघार टिमलाई फरोकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

बुधबार भएको खेलमा पुलिसले काठमाडौं एघारलाई १०३ रनले पराजित गरेको हो । १९८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौं एघार ९४ रनमा अलआउट भएपछि पुलिसले फराकिलो जित निकालेको हो । काठमाडौंका कप्तान सन्दीप लामिछानेले २६, कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाए। सुरुवात मै दबाबमा आएको काठमाडौंले ३३ रन हुँदा पाँच विकेट गुमाएको थियो ।

पुलिसका पवन सर्राफले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले ६.२ ओभरमा एक मेडनसहित १६ रन खर्चिएर चार विकेट लिएका हुन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले तीन र ललितनारायण राजवंशीले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेसँगै ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १९७ रनमात्रै बनाएको थियो। पुलिसले राम्रो सुुरुवात गरेपनि ठूलो स्कोर बनाउन सकेन । पहिलो विकेट ५६ रन हुँदा पुलिसले सुनिल धमलालाई गुमाएको थियो ।

त्यसपछि भने पुलिसको विकेट पतन सुरु भएको थियो । पुलिसका योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए । बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिए ।

प्रतिक्रिया