पुलिसले दियो काठमाडौंलाई १९८ रनको लक्ष्य

काठमाडौं । ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगितामा जितको लागि विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर एघार टिमलाई १९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेसँगै ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १९७ रनमात्रै बनाएपछि काठमाडौंले सामान्य लक्ष्य पाएको हो । पुलिसले राम्रो सुुरुवात गरेपनि ठूलो स्कोर बनाउन भने सकेन ।

पहिलो विकेट ५६ रन हुँदा पुलिसले सुनिल धमलालाई गुमाएको थियो । त्यसपछि भने पुलिसको विकेट पतन सुरु भएको थियो । पुलिसका योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४ र सुनिल धमलाले २२ रन बनाए ।

बलिङतर्फ काठमाडौंका कप्तान सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिए ।

पुलिसले काठमाडौं एघारलाई पराजित गरेमा फाइनल प्रवेश गर्नेछ । तर काठमाडौंसँग पुलिस हारेमा फाइनल पुग्ने सम्भावना भने अंक गणितमै सीमित रहनेछ । तीन खेलबाट चार अंक बनाएको पुलिस अंक तालिकामा शीर्ष स्थानमा रहँदा दुई खेलबाट दुई अंक बनाएको काठमाडौं तेस्रो स्थानमा छ ।

प्रतिक्रिया