मेयर्स कप क्रिकेटः पुलिसले अन्तिम खेल खेल्दै

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा लिग चरणको अन्तिम खेल खेल्दैछ । पुलिसले लिग चरणको अन्तिम खेलमा आज काठमाडौं मेयर एघार टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवी क्रिकेट मैदानमा हुने खेलमा पुलिस जित निकाल्दै फाइनल प्रवेश प्रवेश गर्ने लक्ष्यमा हुनेछ । पुलिसले काठमाडौंलाई हराए फाइनलमा पुग्नेछ । तर काठमाडौंसँग हार फाइनल पुग्ने पुलिसको सम्भावना अंक गणितमा मात्रै सीमित हुनेछ ।

पुलिसले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले हराएको पुलिसले दोस्रो खेलमा भने एपिएफसँग एक विकेटको हार ब्यहारेको थियो । तर तेस्रो खेलमा भने आर्मीलाई तीन विकेटले हराएपछि फाइनल पुग्ने सम्भावना बलियो बनेको हो ।

यता, काठमाडौंको फाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पुलिसलाई पराजित गरे काठमाडौंको पनि चार अंक हुन्छ । काठमाडौंले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा भने आर्मीसँग काठमाडौं ५ विकेटले हारेको थियो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको पुलिसको तीन खेलबाट चार अंक छ । समान खेलबाट चार अंक नै रहेको एपिएफ दोस्रो स्थानमा रहँदा दुई खेल खेलेको काठमाडौं भने दुई अंक बनाएर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया