दोभान बजारका आगलागी पीडितका लागि संरचना निर्माणमा नयाँ मापदण्ड

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई पुनःस्थापित गर्न मेरिङ्देन गाउँपालिकाले नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्डअनुसार घर निर्माणमा ईंटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकको ढाँचामा घर बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बुले बताए ।
पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्डअनुसार मात्र गराइने जनाइएको छ । बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ दुईवटा सडकको क्षेत्राधिकार कम्तिमा ३-५ मिटर मापदण्डमा तोकिएको गाउँपालिकाले जनाएको छ ।
मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको अध्यक्ष लिम्बुले जानकारी दिए ।
नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि सम्बन्धित निकायमा गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको हो ।
मेरिङ्देन- ३ स्थित खाम्लुङको दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका छन् । आगलागीबाट करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।








