ईनरुवाका मेयरद्वारा एक सय ३० परिवारको निःशुल्क स्वास्थ्य बिमा

विराटनगर । सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एकसय ३० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् । मेहताले इनरुवा नगरपालिका- २ का अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् ।

आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुदै आएका मगर टोलका अति विपन्न परिवारलाई निःशुल्क जीवन बिमा गरिदिएको मेयर मेहताले बताए ।

आफूले नगरपालिकाबाट लिएको तलब भत्ताको रकमबाट निःशुल्क स्वास्थ्य बिमा गरिदिएको उनका दाबी छ । आफ्नो सेवा सुविधाबाट प्राप्त गरेको तीनलाख ५० हजार रुपैयाँले विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको मेयर मेहताले बताए ।

स्वास्थ्य बिमा गरिएका परिवारको वर्षदिनपछि नवीकरण पनि आफैँले गरिदिने उनले बताए । ‘आर्थिक अभावका कारण स्वास्थ्य बिमा गर्न नपाएका विपन्नका लागि स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि बिमा गरिदिएको हुँ,’ उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रममा उनीहरू समेटिएर आगामी जेठ १ गतेबाट स्वास्थ्य उपचार सेवा लिन पाउनेछन् ।’

प्रतिक्रिया