मेयर्स कप क्रिकेट : बागमतीको पहिलो जित

काठमाडौं । बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा बागमतीले एपिएफ क्लबलाई २७ रनले पराजित गरेको हो ।

एपिएफलाई पराजित गरेसँगै बागमतीले भने जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । यसअघि भएको पहिलो खेलमा बागमती पुलिससँग दुई रनले हारेको थियो । त्यस्तै, दोस्रो खेलमा काठमाडौं मेयर एघार टिमसँग ९४ रनले हारेको थियो । यता, एपिएफको भने पहिलो हार हो । यसअघि पहिलो खेलमा आर्मीलाई एक विकेटले पराजित गरेको एपिएफले दोस्रो खेलमा पुलिसलाई पनि एक रनले नै पराजित गरेको थियो ।

२३४ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४४.५ ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्रै बनायो ।

एपिएफका लागि आशिफ शेखले ५० रन बनाए। त्यस्तै, शंकर रानाले २९, अमरसिंह रौटेलाले २७ र सन्दीप जोराले २५ रन जोडे। बलिङतर्फ सोनु देवकोटाले ६ विकेट लिए। आरियो पौडेल र रामनरेश गिरीले समान २–२ विकेट लिए ।

यसअघि त्रिवी क्रिकेट मैदानमा बागमती प्रदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा २३३ रन बनाएको थियो । बागमतीका लागि दुई खेलाडीले अर्धशतक बनाए । सातौं नम्बरमा आएका नन्दन यादव ६० रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रनको योगदान दिए । बलिङतर्फ किशोर महतो र अमरसिंह रौटेलाले समान २–२ विकेट लिए ।

प्रतिक्रिया