भारतमा बढ्दो कोरोना संक्रमण, विभिन्न क्षेत्रमा आंशिक लकडाउन

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि त्यहाँका विभिन्न क्षेत्रमा आंशिक लकडाउन सुरु गरिएको छ ।

कोरोना हटस्पट महाराष्ट्र राज्यको ठाणेमा कोरोना संक्रमण फैलिएका जति ठाउँमा लकडाउन गरिएको हो । ठाणेमा १६ ठाउँमा लकडाउन लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लकडाउन ३१ मार्चसम्म जारी रहनेछ ।

महाराष्ट्रकाे औरंगावाद जिल्लामा पनि लकडाउन जारी छ । औरंगावाद अहिले काेराेनाकाे हटस्पट बनिसकेकाे छ । यहाँ मार्च ११ देखि ४ अप्रिलसम्म आंशिक लकडाउन जारी रहने स्थानीय प्रशासनले बताएको छ । लकडाउनभरी त्यहाँ राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइनेछ । यसबाहेक शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागू गरिनेछ ।

पञ्जाब र महाराष्ट्रमा काेराेना केस लगातार बढीरहेकाे छ । अहिले अन्य राज्यमा पनि संक्रमण बढ्न थालेपछि राज्य सरकारदेखि केन्द्र सरकारसम्म फेरि सक्रिय भएर काेराेना नियन्त्रणमा लागेका छन् । त्यहाँकाे स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तमिलनाडु, पञ्जाब, कर्नाकट र केरलमा संक्रमण बढिरहेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा देशभर १८ हजार ७११ संक्रमित थपिएका छन् । यीमध्ये आधाभन्दा बढी १० हजार १८७ संक्रमित महाराष्ट्रका छन् । यसबाहेक केरलमा २ हजार ७९१ संक्रमित थपिएका छन् भने पञ्जाबमा १ हजार १५९ संक्रमित थपिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया