आर्मी ८७ रनमा अलआउट, सागरले लिए पाँच विकेट

काठमाडौं–  त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा ८७ रनमा अलआउट भएको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल पुलिस क्लबसँग पहिले ब्याटिङ गरेको आर्मीले  खराब प्रदर्शन गर्दै ३०.१ ओभरमा ८७ रन मात्रै बनाउन सक्यो।
आर्मीले सुरुवातदेखि नै खराब ब्याटिङ गरेको थियो। ओपनिङमा आएका सोमपाल कामी ५ र राजु रिजाल ४ रनमा आउट भएपछि टिम दबाबमा आएको थियो। त्यस लगतै तेस्रो नम्बरमा आएका हरि चौहान पनि ४ रनमा आउट भए। ३२ रन हुँदा आर्मीले ७ विकेट गुमायो। एकपछि अर्को विकेट पतन भएको आर्मी दबाबमा आएसँगै ८७ रनमा समेटिएको हो।
आर्मीका लोकश बमले ३२, विक्रम सोबले १४ र रोहितकुमार पौडेलले १३ रन बनाए।
आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले पाँच विकेट लिए। उनले १० ओभरमा ४० रन खर्चिएर दुई ओभर मेडनसहित पाँच विकेट लिए। त्यस्तै, पवन सर्राफले तीन र ललितनारायण राजवंशीले दुई विकेट लिए।
आर्मीविरुद्ध उत्कृष्ट बलिङ गरेको पुलिसले ८८ रनको सामान्य लक्ष्य पाएकाे छ । 
प्रतिक्रिया