मेयर्स कप क्रिकेटः आज दुई खेल

काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बामती प्रदेशसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले खेल्नेछ।

एपिएफ क्लब र बागमती प्रदेशबीचको खेल त्रिवी क्रिकेट मैदानमा हुनेछ। एपिएफ क्लब लगातार दुई खेलमा विजयी भएको टिम हो। एपिएफले पहिलो खेलमा आर्मीलाई एक विकेटले पराजित गरेको थियो। आफ्नो दोस्रो खेलमा पनि पुलिसलाई एपिएफले एक विकेटले नै पराजित गरेको थियो। यता, बागमतीले भने लगातार दुई खेलमा हार ब्यहोरेको छ। पहिलो खेलमा पुलिससँग दुई रनले हारेको बागमतीले दोस्रो खेलमा काठमाडौं मेयर एघार टिमसँग ९४ रनले पराजित भएको थियो।

पुलिस र आर्मीबीचको खेल भने मूलपानी क्रिकेट मैदानमा हुनेछ। पहिलो खेलमा बागमती प्रदेशलाई दुई रनले हराएको पुलिसले दोस्रो खेलमा भने एपिएफसँग एक विकेटको हार ब्यहोरेको थियो। यता, आर्मीले भने पहिलो खेलमा नै एपिएफसँग एक विकेटको हार ब्यहोरेको थियो। तर दोस्रो खेलमा भने काठमाडौं मेयर एघार टिमलाई पाँच विकेटले पराजित गरेको थियो। पुलिस र आर्मी दुबै टिम तेस्रो खेलमा दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।

प्रतिक्रिया