संसदमा सांसदले धामी नाच देखाए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको अवरोधका कारण महत्वपूर्ण अध्यादेश पेश गर्न नपाएको बताएका छन् ।

सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई काठमाडौंबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको अवरोधका कारण एसिड आक्रमणकारीलाई कारबाही गर्नेलगायत महत्वपूर्ण अध्यादेश पेश गर्न नपाएको बताएका हुन् ।

उनले संसदको अवरोधलाई धामी नाचको संज्ञासमेत दिएका छन् ।

‘हिजो गज्जबको सेटिङ् देखियो,’ प्रधानमन्त्री ओलीले भने, ‘के भन्दाखेरि एसिड आक्रमणकारीलाई सजाय गर्ने अध्यादेश । नाराबाजी गर्‍या छ, उफ्र्या छ । धामी नाँच हो कि, के हो बुझ्नै सकिएन ।’

सांसदहरुले संसदीय मर्यादा भुलेको पनि प्रधानमन्त्री ओलीको आरोप छ । ‘हामी हाम्रो संसदलाई कता लाने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने हो, हामी आफैँ जानकार छौँ । देशको गरिमा, यो प्रतिनिधि सभाको गरिमा, आफ्नो मर्यादा कता लाने भन्नेबारे हामी स्वयम् नै जानकार छौँ ।’

पुनःस्थापित प्रतिनिधि सभाको सातौं अधिवेशनको पहिलो दिनको बैठकको शुरुमै प्रचण्ड–माधव पक्षका सांसदले विरोध जनाएका थिए । बैठकको शुरुमै सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो ? आफैंले विघटन गरेको संसदमा कुन हैसियतमा उहाँले अध्यादेश पेश गर्ने ?’ भन्दै विरोध जनाएका थिए ।

पहिलो दिनको बैठक दिवंगत भएका सांसदहरुप्रति शोक विज्ञप्तिमात्र पारित गरी स्थगित गर्नुपर्ने रावलको माग थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले भने बैठक अघि बढाउँदै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गर्न समय दिएपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले विरोध जनाएका थिए ।

आफूहरुको विरोधका बिच प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री लीला श्रेष्ठले अध्यादेश पेश गरेपछि उनीहरुले नाराबाजी गरेका थिए । सरकार आफैंले फिर्ता लिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरि सदनमा ल्याएकोमा कांग्रेसका सांसदले विरोध गरेका थिए ।

तत्पश्चात् सभामुख सापकोटाले १० मिनेटको लागि स्थगित गरेको बैठक सूचना टाँस गरी बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ पेश गर्ने कार्यसूची रहेपनि पहिलो नम्बरमा रहेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गर्ने बेलामै सांसदले अवरोध गरेका हुन् ।
तर, प्रधानमन्त्री ओलीले सोमबारको भाषणमा एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्ने अध्यादेश पेश गर्न सांसदहरुले नदिएको बताए ।

प्रतिक्रिया