प्रवीण मृत्यु प्रकरणः सबै पक्राउ, दुईजना धरौटीमा रिहा

विराटनगर । उर्लाबारी ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणसँग जोडिएका सबै पक्राउ परेका छन् । उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरु पक्राउ परेका हुन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटनामा संलगन सबै प्रहरीको नियन्त्रणमा आएको जनाएको हो । घटनामा संलग्न भनिएका उर्लाबारी-६ का ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपलिका-९ का ३१ वर्षीय दीपेश पौडेल, होटल सञ्चालक उर्लाबारी नगरपालिका-९ का ३४ वर्षीय कुमार राई, मोरङ रतुवामाई नगरपालिका-१० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरी सबै पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाको अवस्था र उनीहरुलाई पक्राउ गर्नु पर्ने कारणको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले घटनासँग सम्बन्धित बबै व्यक्ति पक्राउ परिसकेको बताए । एसपी खड्काले घटनाबारे अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक उद्धव पोखरेल र प्रहरी जवान योगीन सार्कीलाई कार्वाहीको विभागीय कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनीहरुसँग बयान लिने काम भइरहेको एसपी खड्काले बताए ।

यस्तो छ घटना विवरण
गत पुस ५ गते उर्लाबारी नगरपालिका-६ स्थित रमेश गिरीको कोठा घटना भएको हो । उर्लाबारी नगरपालिका-५ बस्ने प्रेम प्रसाद बाँस्तोलाको छोरा ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु भएको थियो । यही घटनाको बिषयलाई लिएर मृतकका आफन्तले प्रहरीले निपक्ष छानविन नगरेको भन्दै आन्दोलन गरेका थिए ।

दोषीलाई उन्मुक्ति दिएको आरोप लगाएका उनीहरुले मिसिलमा अन्यको फोटो हालेर नक्कली मिसिल तयार पारेको आरोप लगाउँदै आएका थिए । मृतकका आफन्तर गाउँलेले आन्दोलनलाई उग्र बनाए पछि गत फागुन ९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मान बहादुर राईको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

दुई जना धरौटीमा छुटे
घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरेर कारागार चलान गरिसकेको छ भने केही अझै प्रहरी हिरासतमा रहेका छन् । पक्राउ परेका मेहरमान दर्जी उर्लावारीबाट पक्राउ परी पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

त्यस्तै कुमार राई र रमेश गिरी उर्लाबारीबाट पक्राउ परेकामा थिए । राई तीन लाख र गिरी एक लाख धरौटीमा छुटेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको भनिएका सुदिप परियारलाई धरानबाट पक्राउ गरी कारागार चलान भएका छन् । अर्का राजेश रणपहेलीलाई बुटवलबाट पक्राउ गरि अदालतमा पेश गरिएको एसपी खड्काले जानकारी दिए । झापाका दिपेश पौडेल ईप्रका दमकबाट मोटरसाईकल चोरी मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

छानविन समितिको प्रतिवेदन यस्तो
अनुसन्धान टोलीले घटनाको बिस्तृत अध्ययन गरेको थियो । अनुसन्धान टोलीले दिएको प्रतिबेदन जानकारी दिँदै एसपी खड्काले प्रहरीले गरेको अनुसन्धानमा कुनै कैफियत नगरेको बताए ।

छानविन समितिले दिएको प्रतिवेबेदन अनुसार प्रेम प्रसाद बाँस्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेली समेत भएको कर्तव्य ज्यान कसूरमा अनुसन्धानको क्रममा जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनावटी गरी राखी बदनियत पूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडा समेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको सम्बन्धी गुनासो रहेको सम्बन्धमा स्थलगत रुपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गर्दा उक्त नक्कली भनिएको फोटो मिति २०७७ भदौ ३ गते करेन्ट लागि घाईते भएको भनिएको छ ।उक्त फोटो लेटाङ नगरपालिका-८ घर भई उर्लाबारी नगरपालिका-७ बस्ने २६ वर्षीय नविनराज घिमिरे गहतराजको भएको प्रहरीले जनाएको छ । गोदवारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको फोटो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको र प्रहरी जवान योगीन सार्कीले कार्यालयको कम्पयूटरबाट मृतकको फोटो प्रिन्ट गरी राखिएको देखिन्छ तथा उक्त फोटो मिति २०७७ फागुन ९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बदनियतपूर्वक नभएको समितिको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धान मिसिलमा संलग्न कागजातहरु प्रमाणीकरण, अनसुन्धान, भौतिक सवुतको परीक्षण गर्ने कार्यमा कमीकमजोरी भएको प्रतिबेदनमा औल्याईएको छ । ‘जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको छ,’ प्रतिबेदनमा भनिएको छ, ‘विभागिय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने देखिन्छ ।’

  • छानविन समितिको पाँच सुझाव

छानविन समितिले प्रतिबेदन दिँदै केही पीडितमैत्री सुझाव पनि दिएको छ ।
१. घट्नाबाट पीडित अथवा प्रभावित परिवारजनहरुसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय, सम्पर्क, सहकार्य तथा परामर्श गर्नु पर्ने सुझाव छानविन समितिको छ ।

२. लाशजाँच मुचुल्का तथा पोष्टपार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक–घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने साथै अविलम्व पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्रा प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

३. अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरुको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसूरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी प्रर्याप्त लिने रणनिति लिनु पर्ने सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायधिवक्तसँग राम्रो समन्वय गर्नु पर्ने ।

४. अनुसन्धान मिसील तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भिरताको साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनु पर्ने ।

५. लाशजाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घट्नास्थल तथा लाशको प्रर्याप्त फोटो अनिवार्य लिनुपर्ने ।

प्रतिक्रिया