न्यू डायमन्डको पहिलो जित

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।

नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा न्यू डायमन्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
न्यू डायमन्डले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अघि बढेको थियो । तर तेस्रो सेट डायमन्डले २३–२५ ले गुमाएको खेल चौथो सेटमा लम्बिएको थियो । चौथो सेटमा सुरुवातमा पछि परेपनि डायमन्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित हात पारेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी डायमन्डकी झरना श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । डायमन्डको उपाधि जित्ने सम्भावना जीवितै छ । डायमन्डको दुई खेलबाट ४ अंक छ । पराजित आर्मीको तीन खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको एपिएफको ६ तथा दोस्रो स्थानको पुलिसको ५ अंक छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लबले लुम्बिनी युनाइटेडमाथि ३–० जीत हात पारेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ ले पराजित गरेको हो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच भइन् । जितपछि एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार तेस्रो हार बेहोरेको लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।

लिगमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागी छन् । लिगका सबै खेल सकिँदा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै दोश्रो हुनेले २ लाख, तेश्रो हुनेले १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा न्यू डायमन्ड र नेपाल एपिएफ तथा दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्नेछन् ।

प्रतिक्रिया