होहल्लाका बिच संसदमा अध्यादेश

काठमाडौं । प्रतिनिधिसभामा सांसदको विरोधका बिच अध्यादेश प्रस्तुत गरिएको छ । नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहको विरोधका बिच संवैधानिक परिषद् ऐनसम्बन्धी अध्यादेश पेश गरिएको हो ।

आइतबारको बैठकको शुरुमै सांसद भीम रावलले सरकारले अध्यादेश ल्याउनुअघि धेरै कुराको छिनोफानो गर्नुपर्ने अवस्था रहेकाले आजको बैठक दिवंगत सांसदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर बैठक स्थगित गर्न माग गरेका थिए । तर माग सुनुवाई नगरी सभामुखले अध्यादेश पेश गर्ने समय दिएपछि नेपाली कांग्रेसले पनि आपत्ति जनाएको थियो ।

कांग्रेसका मूख्य सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको अध्यादेश संविधान प्रतिकुल रहेको र यसले संवैधानिक परिषदको ऐनको स्पिरिटलाई पूरै समाप्त गरेको भन्दै त्यो मान्य नहुने भएकाले फिर्ता लिनुपर्ने माग गरेका थिए ।

सरकारले भंग गरेको सदनलाई सर्वोच्चले पुनःस्थापना गरिदिएकाले संसदीय अभ्यासलाई नागरिकको भरोसाअनुसार अघि बढाउनु सबैको दायित्व भएको भन्दै यसअघि नै संसदबाट फिर्ता लिएको अध्यादेश फेरि पेश गर्नु संसदको उपहास हुने खाँडको भनाइ थियो । ‘आफैँले अवैधानिक भनेको विधेयक किन फेरि संसदमा ल्याइएको हो ?’ प्रमुख सचेतक खाँडले प्रश्न गरे ।

विरोधका बिच सभामुख अग्नीप्रसाद सापकोटाले अध्यादेश पेश गर्ने समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गरे । नाराबाजीका कारण संसद बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया