पुलिसविरुद्ध एपिएफको जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबविरुद्ध एक विकेटको जित निकालेको हो ।

यसअघि पहिलो खेलमा पनि एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध एक विकेटको जित निकालेको थियो । २५९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा ९ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

एपिएफका लागि सन्दीप जोराले ६१ रन बनाए। उनले ६५ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अर्धशतक बनाएका थिए । सुवास खकुरेलले पनि अर्धशतक बनाए । उनले ७९ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए । आशिफ शेखले ४२, सुमित महर्जनले अविजित ३३ रन बनाउँदा कप्तान शरद भेषावकरले अविजित २० रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच विकेट लिए। योगेन्द्रसिंह कार्कीको नाममा भने दुई विकेट रह्यो ।

दीपेन्द्रको शतक
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पुलिसले ५० ओभरमा सात विकेटको क्षतिमा १५८ रन बनाएको थियो । ९५ रन हुँदा चार विकेट गुमाएको पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उकासेका थिए ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक बनाए। उनले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै शतकसहित १४० रन बनाएका थिए । त्यस्तै, पवन सर्राफले ३५ र सुनिल धमलाले ३३ रन बनाए । बलिङतर्फ शरद भेषावकरले तीन र अविनाश बोहराले दुई विकेट लिए ।

यो पुलिसको दोस्रो खेलमा पहिलो हार हो । यसअघि शनिबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई दुई रनले पराजित गरेको थियो ।

प्रतिक्रिया