सर्वोच्चको फैसलाबाट तल्लो तहमा एमाले धारका नेता खुसी

विराटनगर । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि नेकपाभित्रको रडाको के होला भन्ने धेरैको मनमा जिज्ञासा रहेको छ ।

सर्वोच्चको फैसला सार्वजनिक भएसँगै केही नेताहरुले खुसी व्यक्त गरेका छन् भने केहीले भने शंका व्यक्त गरेका छन् ।

विशेषगरी ओली समूहमा आबद्ध भएका तथा पूर्व नेकपा एमाले लाइनका नेताहरुले भने खुसी व्यक्त गरेका छन् । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आफ्नो फेसबुक स्टाटसमा सबैलाई बधाई दिएर ‘लौ आयो एमाले’ भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्रीले पनि आफ्नो फेसबुकबाट सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो पार्टीको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाम लाई सर्वोच्च अदालतले बदर गरेको छ । ऋृषि कट्टेलको कम्युनिस्ट पार्टीलाई दिएको छ । हामीले अब न्वारान गर्नुपर्ने देखियो ।’ कार्कीले आफ्नो पार्टी अब के हुने र के नाम राखेर न्वारन गर्ने भन्ने अन्यौलता देखाएका छन् ।

प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशकुमार कुसियैत ‘सबैलाई बधाई’ भनेका छन् । त्यस्तै पूर्वमाओवादी धारका नेकपाका नेताहरुले भने सर्वोच्चबाट नयाँ खेलको शुरुवात भएको बताएका छन् ।

नेकपाका नेता तथा पूर्वमाओवादीका नेता गणेश उप्रेती शुसिलले भने फरक मत राखेका छन् । उनले मकालु खबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन्, ‘यो मुद्दा नेकपाले हारेको नभई निर्वाचन आयोगले हारेको हो ।

नेकपा अर्कैको हो भनी अदालतबाट फैसला भयो, माओवादी अर्कैको नाममा गएको छ, एमाले पनि अर्कैको भएको अवस्थामा अब कसरी अघि बढ्ने भनने निर्क्यौल निर्वाचन आयोगले नै दिनुपर्ने तर्क उनको छ । ‘नेकपा उपनिर्वाचनमा पनि सूर्य चिह्नबाटै लडेको हो,’ उनले भने, ‘अहिले आएर कसरी पार्टी खारेज हुन्छ ? यसको बाटो निर्वाचन आयोगले नै फुकाउनु पर्छ ।’

प्रतिक्रिया