भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी !

काठमाडौँ । म्यान्मारले सरकारको निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ ।

भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् । म्यान्मारका अधिकारीहरूले भारतलाई पठाएको पत्रमा ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका हुन् ।

म्यान्मारमा गत महिना भएको सैन्य कूपछि विरोध प्रदर्शन र हडताल भइरहेका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि कडा रवैया अपनाएका छन् र अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

शनिवार पनि प्रदर्शनकारीहरूले देशभरि नै निषेधाज्ञा उल्लङ्घन गर्दै देशभर विरोधमा उत्रिएका थिए । सबैभन्दा ठूलो शहर याङ्गुनमा प्रहरीले अश्रु ग्यास, रबरका गोली र ग्रिनेडहरू प्रयोग गरेर भिड तितरबितर पारेका विवरणहरूमा जनाइएको छ ।

पछिल्लो समय थप मृत्युको खबर आएको छैन । भारतको मिजोरम प्रान्तको चम्फाइ जिल्लाकी उपआयुक्त सीटी जुआलीले रोयटर्स समाचार संस्थालाई आफूले म्यान्मारको फालम जिल्लाबाट प्रहरी अधिकारीहरूलाई फिर्ता गर्ने अनुरोध गर्दै लेखिएको पत्र प्राप्त गरेको बताएकी छन् ।

पत्रमा करिब आठजना प्रहरी अधिकारी भारत छिरेको म्यान्मारलाई थाहा भएको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘दुई छिमेकी मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न भारत आइपुगेका म्यान्मारका आठ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिन र म्यान्मारलाई फिर्ता गर्न आग्रह गरिन्छ ।’

आफूले दिल्लीस्थित गृह मन्त्रालयको निर्देशन कुरिरहेको जुआलीले बताइन् । रोयटर्सका अनुसार पछिल्ला दिनमा प्रहरी अधिकारीसहित करिब ३० जनाले सीमा कटेर भारतमा शरण लिन आइपुगेका छन् । शनिवार म्यान्मारका थप मानिसहरू भारत छिर्नका लागि सीमा क्षेत्रमा आइपुगेको भारतीय अधिकारीलाई उदृत गर्दै एएफपी समाचार एजेन्सीले छापेको छ । – बीबीसी

प्रतिक्रिया