‘मिटिङ राम्रो हुन, इटिङ राम्रो हुनुपर्छ’

बनेपा । युवा तथा खेलकूदमन्त्री दावा तामाङले नाम जस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नाम जस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए ।

‘मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ’, उनले भने, ‘काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु ।’

त्यसका लागि काम गर्ने वातावारण बनाउनका लागि सबै तयार हुन आवश्यक रहेकामा उनले जोड दिए । कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला-जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गरे ।

कतिपय अवस्थामा समस्याकै बीचबाट नै राम्रो नजिता निकाल्नुपर्ने अवस्था रहने भएकाले सबै पक्ष सक्रिय भएर आ-आफ्नो तर्फबाट लाग्न मन्त्री तामाङले आग्रह गरे । स्काउटको नीतिगत काम अगाडि बढाउनका लागि विद्यालयमा बढी गतिविधि हुने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा उत्साहजनकरूपमा सबै प्रदेश र स्थानीय तहमा पुर्याउने योजनाका साथ काम भइरहेको मन्त्री तामाङले बताए । –रासस

प्रतिक्रिया