बी डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा नयाँबस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा भने झम्सिखेल युथ क्लबले बाँसबारी क्लबसँग खेल्नेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो १२ः१५ बजे नयाँबस्ती र श्री कुमारीबीचको खेल हुनेछ । नयाँबस्ती लिगको छैटौं स्थानमा रहँदा श्री कुमारी लिगको १० औं स्थानमा छ । दुबै टिम आजको खेलमा जित निकाल्ने दाउँमा छ न्। झम्सिखेल र बाँसबारीबीच खेल भने १५ः३० बजे एन्फा कम्प्लेक्सको मैदानमै सुरु हुनेछ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको टिम हो । झम्सिखेल भने लिगको पुछारदेखि दोस्रो स्थानमा छ ।

बी डिभिजनबाट ए डिभिजनमा भने सातदोबाटो युथ क्लब बढुवा भएको छ । शनिबार भएको खेलमा दोस्रो स्थानमा रहेको खुमालटार युथ क्लब श्री भगवती क्लबसँग २-१ गोलअन्तरले हारेसँगै सातदोबाटो ए डिभिजनमा बढुवा भएको हो । सातदोबाटोले अझै लिगमा दुई खेल खेल्नु बाँकी छ । लिगको शीर्ष स्थानमा रहेको सातदोबाटोको २५ अंक छ । सातदोबाटोले ९ खेलमध्ये ८ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

प्रतिक्रिया