मेयर कप क्रिकेट : एपिएफकाे रोमाञ्चक जित

काठमाडौं । मेयर कप क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

२ सय ३६ रनको लक्ष्य एपिएफले खेल सकिन २ बल बाँकी छँदै ९ विकेट गुमाएर पूरा गरेको हो । एपिएफका लागि सुमित महर्जनले ६० र वसन्त रेग्मीले ४९ रनको योगदान गरे ।

अभिनाश बोहरा ७ र कमल सिंह ऐरी ४ रनमा अविजित रहे ।

आठौँ ओभरमा १६ रन जोड्न ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको एपिएफका तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गरेपछि खेलमा पुनरागमन गर्दै जीत हात पारेको हो । पाँचौं विकेटका लागि शंकर राना र सुमित महर्जनले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

शंकरले ३३ रन बनाए । यस्तै सातौं विकेटका लागि वसन्त र सुमितले ७१ तथा आठौं विकेटका लागि वसन्तले अमरसिंह राउटेलासँग ६५ रनको साझेदारी गरे । अमरले ३८ रन बनाए ।

आर्मीका लागि विक्रम सोबले ३ र करण केसीले २ विकेट लिए ।

कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा २ सय ३५ रनमा अल आउट भएको थियो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ५६ रन बनाए ।

आर्मीले दोस्रो खेल सोमबार काठमाडौं मेयर ११ सँग खेल्नेछ । एपिएफले भोली नेपाल पुलिसक्लवसँग कीर्तिपुरमा खेल्ने छ ।

प्रतिक्रिया