मेयर कप क्रिकेटः ७३ रन पनि बनाउन नसक्दा हार्याे बागमती प्रदेश

काठमाडौं । मेयर कप क्रिकेटमा नेपाल पुलिस क्लवले नाटकीय जीत हात पारेको छ । शनिबार मूलपानीमा भएको खेलमा ७३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशलाई ७० रनमा अलआउट गर्दै पुलिसले २ रनकाे नाटकीय जीत हात पारेको हो ।

७३ रनको झिनो मानिएको लक्ष्य पछ्याएको बागमती प्रदेशको टिम २७ ओभर २ बलमा ७० रनमै अलआउट भयो । १८ ओभरमा ५३ रन बनाउँदा ३ विकेट मात्र गुमाएर जीतकाे आशा जगाएकाे बागमतीको विकेट पतन त्यसपछि नाटकीय रुपमा भएको थियो ।

बागमतीले त्यसपछिका १७ रन जोड्न ७ विकेट गुमाएको हो ।

बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ र आदिल खानले १० रन बनाएपनि ९ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पृथु बास्कोटा ९, बिपिन आचार्य ८, ईशान पान्डे ७, आकाश थापा ४ रन बनाएर आउट भए भने पारस खड्का सोनु देवकोटा, नन्दन यादव र रामनरेश गिरीले रनको खाता खोल्नै सकेनन् ।

पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । उनले ८ ओभरमा २ मेडनसहित २४ रन दिए । यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिए भने सागर ढकालले २ र राशिद खानले १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको पुलिस २५.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । पुलिसका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाएका थिए ।

पुलिस क्लबका लागि अरियो पौडेलले ४ तथा नन्दन यादवले ३ विकेट लिए । पुलिसले दोस्रो खेल आइतबार एपिएफ क्लबसँग कीर्तिपुरमा खेल्ने छ भने बागमती प्रदेशले मुलपानीमा काठमाडौं मेयर ११ सँग खेल्ने छ । यो खेल पनि आइतबार नै हुनेछ ।

प्रतिक्रिया