मेयर कप क्रिकेट: आर्मीद्वारा एपीएफलाई २ सय ३६ रनको लक्ष्य

काठमाडौंमा शनिबार शुरु भएको मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २ सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको आर्मी ४९ ओभर ५ बलमा २ सय ३५ रनमा अलआउट भयो ।

आर्मीका लागि रोहित पौडेलले ५६ रन बनाए । प्रतियोगिताको यो पहिलो अर्धशतक हो । यस्तै, कप्तान विनोद भण्डारीले ४२ रन बनाए । विनोद र रोहितले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

बलियो सुरुवात गरेको आर्मीको पहिलो विकेटका लागि सोमपाल कामी र लोकेश बमले ६१ रनको साझेदारी गरेका थिए । ओपनिङ गर्न आएका सोमपालले २८ रन बनाए । लोकेशले ३० रन बनाए भने भिम शार्कीले १८ रन थपे । यस्तै राजेश पुलामीले १७ र कुशल मल्लले ११ रन बनाए ।

एपीएफका अभिनाश बोहोराले ३ तथा भुवन कार्की र अमर रौटेलाले २–२ विकेट लिए ।

प्रतिक्रिया