घुस लिएको आरोपमा बागमती प्रदेशका एक कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सब-इन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन् ।

टोलीले हेटौँडास्थित पर्यटन विकास आयोजनामा परिसरबाटै ५० हजार रुपैयाँसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६ मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ । धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षीय लामिछाने एक वर्षदेखि पर्यटन विकास आयोजनाका कार्यरत कर्मचारी हुन् । लामिछानेको धादिङ, चितवन, रसुवा र नुवाकोट कार्यक्षेत्र रहेको पर्यटन विकास आयोजनाले जनाएको छ ।

प्रतिक्रिया