ऋषभको उत्कृष्ट प्रदर्शनसँगै भारतको अग्रता

काठमाडौं । विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले शतक प्रहार गरेपछि भारतले इंग्ल्यान्डसँगको चौथो टेस्टको पहिलो पालीमा अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिँदा भारतले ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको छ । भारतका वासिङ्टन सुन्दर ६० र अक्षर पटेल ११ रनमा अविजित छन् ।

यो अवस्थामा भारतले ८९ रनको अग्रता लिएको छ र उसको ३ विकेट बाँकी छ ।

ऋषभले १ सय १८ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रन बनाए । यो उनको टेस्ट करिअरको तेस्रो शतक हो । उनले छैटौं विकेटका लागि वासिङ्टनसँग १ सय १३ रनको साझेदारी गरे ।

रोहित शर्माले ४९, चेतेश्वर पुजाराले १७, अजिक्या रहानेले २७ र रविचन्द्रन आश्विन १३ रन बनाए भने सुभमन गिल र कप्तान विराट कोहली शून्य रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसन, ज्याक लीच र बेन स्टोक्सले २–२ विकेट लिए ।

अहमदावादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो पालीमा २ सय ५ रनमा अल आउट भएको थियो ।

भारतका अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ ।

प्रतिक्रिया