इटहरीका सबै विद्यालयमा लैंगिक हिंसा हुन नदिन सम्पर्क व्यक्ति

विराटनगर । उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयमा लैंगिक सम्पर्क व्यक्ति व्यवस्था गरेको छ । लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको हो ।

विद्यालयका शिक्षकहरुमध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीका सबै ३६ वटा सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्थापन गरिएको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन ती सम्पर्क व्यक्तिले भूमिका खेल्ने गौतमको भनाइ छ । सम्पर्क व्यक्तिले हिंसाबाट जोगिन गरिनुपर्ने उपाय, हिंसा भइहालेको अवस्थामा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा विद्यालयमा सचेतनामूलक कक्षाको संचालन गर्नेछन् ।

सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क व्यक्तिका लागि उपमहानगरले अभिमुखीकरणसमेत दिइसकेको छ ।

अब प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क व्यक्ति र विद्यार्थीहरूबीच पनि अभिमुखीकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया