पाकिस्तानमा नेपालको शान राखेर फर्किनेछौं : सरु लिम्बु

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका चारजना खेलाडी घरेलु लिग खेल्न आज (शुक्रबार) पाकिस्तान जाँदैछन् ।

पाकिस्तानको घरेलु लिग ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली राष्ट्रिय महिला टिमका खेलाडीहरू स्ट्राइकर अनिता केसी, गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, मिडफिल्डर सरु लिम्बु र डिफेन्डर गिता राना शुक्रबार बेलुका पाकिस्तान जान लागेका हुन् ।

पाकिस्तान फुटबल फेडेरेसनले आयोजना गर्ने लिगमा नेपालका चारैजना खेलाडीलाई मासा युनाइटेड फुटबल क्लबले अनुबन्ध गरेको हो । उनीहरू पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेका हुन् । उनीहरू स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतपछि विदेशी क्लबको प्रतिनिधित्व गर्ने महिला खेलाडी पनि बन्नेछन् ।

यसैबीच पाकिस्तानी लिग खेल्न जान लागेका खेलाडीले प्रतियोगितामा आफ्नोमात्रै नभएर देशकै सकारात्मक छाप छोडेर आउने बताएका छन् । मकालु खबरसँग कुराकानी गर्दै मिडफिल्डर सरु लिम्बुले प्रतियोगितामा खेल्न पाउनु चारैजनाका लागि राम्रो मौका भएकाले सक्दो राम्रो खेल्ने बताइन् ।

‘साम्बा र अनु दिदीहरूपछि हामीले विदेशी लिगको मौका पाएका छौं, यो अवसरलाई हामीले सक्दो राम्रो खेलेर हाम्रो र सिंगो देशको नाम राख्नेछौं‚’ सरुले भनिन् ।

राम्रो प्रदर्शन गर्न सके आफूहरुका लागि मात्र नभएर नेपाल र सबै नेपाली खेलाडी र देशकै नाम रहने भएकाले यो अवसरलाई सक्दो सदुपयोग गर्न आफुहरू उत्साही रहेको उनको भनाइ छ ।

करिब एक महिना पाकिस्तानमा खेल्ने र त्यसक्रममा सिकेको अनुभव नेपाली राष्ट्रिय टिमका लागि पनि उपयोगी हुने सरुले बताइन् ।

पाकिस्तानी घरेलु फुटबलमा भने नेपालका कुनैपनि महिला खेलाडीले खेलेका छैनन् । सावित्रा र अनिताले भारतीय लिग खेलेका थिए ।

प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराँचीमा हुनेछ । नेपाली खेलाडी अप्रिल ५ तारिखमा नेपाल फर्किनेछन् ।

प्रतिक्रिया