७० गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन

काठमाडौँ । देशभरका करिब ६ दर्जन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिनै सञ्चालन भइरहेको पाइएको छ । अहिलेसम्म ७० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम कारबाही प्रभावित भएको उनले बताए । महासंघले गाउँपालिकाहरुको जिम्मेवारी र दायित्व भारको आधारमा कार्यसम्पादनमा अनुभवी प्रशासकीय अधिकृत खटाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणशसिंह ठगुन्नाको ध्यानाकर्षण गराउँदै महासंघले गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा अनुभवी र अवधि तोकेर पठाउन माग गरेको अध्यक्ष श्रेष्ठले बताए ।

ध्यानाकर्षणमार्फत कम्तीमा दुई वर्षका लागि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरिएको छ । महासंघले गाउँपालिकाहरूको विद्यमान प्रशासनिक संरचनामा प्रमुख प्रशासकीय अधिकृत र अन्य अधिकृतहरूको तह समान भएकोले र कतिपय गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतभन्दा अन्य अधिकृत वरिष्ठ हुँदा कार्यसम्पादनमा जटिलता देखिएकाले प्रमुख प्रशासकीय अधिकृत खटाउँदा अन्य अधिकृतभन्दा वरिष्ठ अधिकृत खटाउन माग गरेको हो ।

साथै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम प्रशासकीय संगठन र कर्मचारी दरबन्दी यकिन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा उपयुक्त समस्या समाधान गर्ने गरी कार्यान्वयन गर्नसमेत गाउँपालिका महासंघले माग गरेको छ ।

स्थानीय तहको क्षमता अभिबृद्धिका लागि मन्त्रालयबाट सञ्चालन भएको प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम (पीएलजीएसपी) कार्यक्रम अत्यन्तै ढिला भइरहेको भन्दै महासंघले आपत्ति जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिको अवधि नै सकिन लागेकाले यो कार्यक्रम अन्तर्गत तर्जुमा गरिएका कार्यक्रमहरूको सान्दर्भिकतासमेत नरहेकोले कार्यक्रमको प्रभावकारिता बढाउन र असान्दर्भिक कार्यक्रम परिमार्जन गर्न महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया