आगलागी पीडितलाई प्रदेश सरकारको राहत

विराटनगर । प्रदेश सरकारले ताप्लेजुङ आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ । फागुन १८ गते ताप्लेजुङ्गको मेरिङदेन-३ दोभानमा भएको आगलागी पीडितलाई राहत उपलब्ध गराइने भएको हो ।
घटनाको बिहीबार स्थलगत निरीक्षण गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबैलाई स्तव्ध बनाएको बताउँदै पीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराए । पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद, डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनले बताए ।
आगलागी प्रभावित ठाउँको पुनः निर्माणमा प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाई छ । संघीय सरकारसँगको समन्वयमा थप सहयोगका लागि हाम्रो पहल हुनेछ,’ राईले भने, ‘आगलागीमा परी घाइते हुनु भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।’









