कांग्रेस भन्छ- सार्वभौम संसदलाई बन्धक बनाउनु दुःखद्

विराटनगर । नेपाली कांग्रेसले प्रदेश सभाकाे बैठक सारिएकाेप्रति आपत्ति जनाएकाे छ । मकालु खबरसँग कुरा गर्दै नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बिहीबारका लागि तोकिएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित गरेकोप्रति आपत्ति जनाए ।

प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै २० गतेको बैठक चैत्र २ गतेका लागि सारेपछि कांग्रेसले दलहरुसँग आवश्यक परामर्श र छलफल नै नगरी सूचना टाँस गरेकाे आराेप लगाएका हुन् । ‘सरकार प्रदेशसभाप्रति अनुदार हुँदै गएको छ,’ उनले भने, ‘सत्ताका लागि सार्वभौम संसदलाई नै बन्धक बनाउने प्रयत्न गरेको भएकाे छ ।’

कार्कीले केही कारण नै नदेखाई सभामुखबाट सहमतिकाे प्रयत्न नभएको सन्दर्भमा लामो समय प्रदेशसभाको बैठक सार्ने कुरा दुःखद् रहेकाे बताए ।

जनताको समस्या, अप्ठेरो र विकास निर्माण तथा कानुन निर्माणका विषयमा बहस र छलफल हुनुपर्ने प्रदेश सभालाई बन्धक बनाएर सरकारले लाचारीपन प्रस्तुत गरेकाे कार्कीकाे आराेप छ । प्रदेशसभाका सभामुखको क्रियाकलापलाई पनि आफूहरुले नजिकबाट नियालिरहेको भन्दै कार्कीले सदनको प्रक्रियाबाटै जारी गतिरोध अन्त्य गर्नेतर्फ सभामुखले ध्यान दिनुपर्ने बताए ।

सभामुखले सदन सुचारू गर्न चासाे नदिएको, वार्ता, छलफलमा समेत चासाे नदिएको प्रमुख प्रतिपक्ष कांग्रेसको आराेप छ ।

‘सभामुख कसैलाई चिढ्याएर जाने मनस्थितिमा हुनुहुन्न,’ कार्कीले भने, ‘सरकारलाई सहमतिमा ल्याउन सक्नुपर्‍यो ।’

प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव यसअघि नै पेश भइसकेको छ । अविश्वासको प्रस्तावकाे पक्षमा कांग्रेसले मतदान गर्ने अभिव्यक्ति सार्वजनिक गरेसँगै सरकार अल्पमतमा पर्ने भएपछि सरकार पक्षले संसद बैठक सार्न दबाब दिँदै आएकाे स्राेतकाे दाबी छ ।

गत पुस १२ गते मुख्यमन्त्री राईविरूद्ध नेकपाको दाहाल-नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अहिले उक्त प्रस्ताव प्रदेश सभामा पेश भइसकेकाे छ ।

प्रतिक्रिया