गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुने

काठमाडौं । पुस्तक प्रकाशन गृह फाइनप्रिन्टले नवलपुरको हर्कपुरमा फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ । हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ र २९ गते हुने फिभरमा २०७७ सालमा फाइन प्रिन्टले प्रकाशन गरेका कृतिका प्रायः लेखकको उपस्थिति रहने संस्थाले जनाएको हो ।

कार्यक्रममा लेखकहरुले आफ्ना पुस्तकका विषयमा चर्चा परिचर्चा, पाठकसँग संवाद एवम् अन्तक्र्रियाका साथै लेखकहरुसँग रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर, विशेष छुटमा पुस्तक प्रदर्शनी र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् ।

यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने तथा बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिन फाइन प्रिन्टले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा कार्यक्रमले कोभिडले ल्याएको मानिसमानिसबीचको दूरी हटाउन र भावनात्मक एकता ल्याउन सघाउने विश्वास पनि व्यक्त गरिएको छ ।

कार्यक्रम एउटा लेखक साहित्यकारको जमघट मात्र नभएर कला, संस्कृति, साहित्य आदिमा रुचि एवम् जिज्ञासा राख्नेहरूको महोत्सव नै हुने आशाका साथ कार्यक्रम आयोजना गर्न लागिएको फाइन प्रिन्टले जनाएको छ ।

चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्ने छैन ।

फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ ।

प्रतिक्रिया