बालमैत्री महानगरमै रोकिएन बालविवाह

  • सुमन सुस्केरा

विराटनगर । घटना १ : ‘प्रेम सम्बन्धमा रहेका’ विराटनगर महानगरपालिका- १३ की १६ वर्षीया किशोरी र १३ वर्षीय किशोरले भागी विवाह गरे ।

किशोरीका बुबाले छोरीको विवाहबारे १०९८ मा फोन गरेर जानकारी गराएका थिए । त्यसैको आधारमा विराटनगर महानगरपालिका बालबालिका शाखा र सिविनसहितको टोली टोलीले सम्झाई बुझाई गरी विवाह बदर गरिदियो ।

घटना २ : विराटनगर महानगरपालिका- १४ की १६ वर्षीय किशोरीले आफ्नै वडाका १५ वर्षीय किशोरसँग विवाह गरिन् । किशोरीका आफन्तले बालविवाह भएको भनेर उजुरी दिएका थिए । उजुरीका आधारमा उनीहरुको पहिचान गरेर किशोरीलाई किशोरको घरबाट ल्याएर पुनःस्थापना गरियो ।

घटना ३ : विराटनगर- ४ का २० वर्षीय युवाले विराटनगर-१ की १५ वर्षीय किशोरीलाई भगाए । किशोरी कक्षा ५ मा पढ्दै थिइन् भने किशोरले पढेका थिएनन् । फेसबुकबाट चिनजान र भेटघाट हुँदै सम्बन्धलाई विवाहमा बदलेका उनीहरुलाई पनि उजुरीका आधारमा विवाह बदर गरी परिवारमा पुनः प्रवेश गराइयो ।

घटना ४ : विराटनगर- ४ कै १५ वर्षीय किशोरी र विराटनगर- १ का १६ वर्षीय किशोरले भागी विवाह गरे । चिनजानको एक महिनामै विवाह गर्ने निर्णय गरेर भागेका उनीहरुबारेको जानकारी विराटनगर महानगरपालिका तथा बाल हेल्पलाइनमा पुग्यो । उनीहरु दुवैजना वडा नम्बर ६ मा रहेको पत्ता लागेपछि भागेको ४ दिनपछि किशोरीको उद्दार गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

घटना ५ : विराटनगर महानगरपालिका- ५ मा फागुन ५ गते विवाह हुने तयारी थियो । २७ वर्षीय पुरुषले १७ वर्षीय किशोरीसँग विवाह गर्ने तयारी गरेका थिए । उनीहरुको विवाहको कुरा बाल क्लब तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था र महानगरसम्म पुग्यो । बाल विवाह रोक्ने अभियानमा लागेका बाल क्लबका पदाधिकारीहरुले यो खबर विराटनगर महानगरपालिका बालबालिका शाखाका प्रमुख डिल्ली धिमालसम्म पुर्‍याए । विवाहको बारेमा जानकारी पाएलगत्तै गएको टोलीले केटा र केटी पक्षसँग छलफल गर्‍यो । बालविवाह गर्दा हुने कानुनी दण्डबारेमा जानकारी गराएपछि विवाह नगर्ने सहमति भयो । उनीहरुको विवाह रोकियो । त्योमात्र होइन त्यहि ठाउँमा नै हुन लागेको अर्को बाल विवाह पनि रोकियो ।

२०७७ सालको वैशाखपछिका पाँच उदाहरणले विराटनगर महानगरपालिकामा सानै उमेरमा हुने विवाहको अवस्था चित्रण गर्छ । विराटनगर महानगरपालिका ‘बालमैत्री’ घोषणा भएको ५ वर्ष भइसकेपनि बालविवाह भने रोकिएको छैन ।

परिवारको सहमतिले भन्दा माया/प्रेम, मन पराउने क्रम अनि भागेर गर्ने विवाहका घटना बढेका देखिन्छन् । विराटनगर महानगरपालिका बालबालिका शाखा प्रमुख डिल्ली घिमालका अनुसार १३ वर्षमै पनि विवाह भएको देखिएको छ । पहिला १८ वर्षको उमेरलाई मापदण्डका रुपमा राख्दा बालविवाह न्यूनीकरणको तहमा रहेको थियो । अहिले २० वर्षको उमेर हद लागू भएपछि बाल विवाहमा भागी विवाहको संख्या अझ बढेको उनले बताए ।

‘पहिला बालविवाहको उजुरी नै पर्ने गरेको थिएन,’ उनले भने, ‘अहिले भागेर जाने दर र अभिभावकले उजुरी गर्ने क्रम बढेको छ‚’ उनले भने ।

उपप्रमुखको अभियान
विराटनगर महानगरपालिकाका सबै र ग्रामथान गाउँपालिकाका दुईवटा वडा बालमैत्री हुन् । ३९ वटा सुचक पूरा गरेपछि स्थानीय बालमैत्री शासनअन्तर्गत पालिकाहरुलाई बालमैत्री बनाइन्छ । तर अहिले यो अधिकार पालिकालाई नै दिइएको छ । बालबालिकासम्बन्धी स्थानीय कानुन निर्माण तथा त्यसको कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई छ ।

बालविवाह बढ्न थालेपछि मोरङका १७ वटै पालिकाका उपप्रमुखले संयुक्त रुपमा यसविरुद्ध अभियान थाल्ने निर्णय पनि गरेका छन् । १४ वटा पालिकाका उपप्रमुखहरुले आफ्नै कार्यकालमा जिल्लाका सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने बताए । बेलवारी नगरपालिकामा भएको संवाद समूहको कार्यक्रममा उनीहरुले बालविवाह रोक्ने बारेमा साझा कार्यक्रम अघि सार्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विराटनगर महानगरपालिकाका उपमेयर ईन्दिरा कार्कीले बालमैत्री घोषणा भएको महानगरमा पनि बालविवाह हुने गरेकाले त्यस्ता विवाह रोक्ने गरिएको बताइन् । मोरङका सबै पालिकामा अभियानको रुपमा बालविवाह न्यूनीकरणको अभियानमा जुटेको जानकारी दिँदै मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख सरला राईले धेरै पालिकामा कार्यविधी बनाएर नितीगत व्यवस्था भइसकेको जानकारी दिइन् । बालविवाह रोक्न पालिकाहरुले नीति र कार्यविधि बनाएर कार्यान्वायन गर्ने सहमति गरिसकेकाले अब बालविवाह रोक्ने पालिकाहरुको कदम थप प्रभावकारी हुने उनको भनाइ छ ।

प्रतिक्रिया