म्यानमारमा हिंसा जारी, एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडाैं । म्यानमारमा सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा कम्तीमा ३८ प्रदर्शनकारी मृत्यु भएकाे छ ।

फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सत्ता सेनाले कब्जा गरेकाे विराेधमा जारी प्रदर्शनमा  बुधबार सहभागी भएका १४ वर्षीय बालकसहित ३८ जनाकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीकाे भनाइ छ ।

फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता नियन्त्रणमा लिएकाे थियाे । उनीहरूकाे रिहाइकाे माग गर्दै सैनिक शासकविरुद्ध नागरिकले दिनहुँ प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा हालसम्म कम्तीमा ५० जनाको ज्यान गएको छ ।

सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

हिंसापछि म्यान्मारमाथि थप अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक डाकेको छ । देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ ।

प्रतिक्रिया