‘कारबाहीको बारेमा जानकारी छैन’

काठमाडौं । सत्तापक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्गले कारबाहीको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले आफूसहित अन्य केही नेताहरुविरुद्ध गरेको कारबाहीको बारेमा जानकारी नभएको नेम्वाङ्गले बताएका हुन् ।

नेता नेम्वाङ्गले विधानतः पार्टीका महासचिवले बैठक आह्वान गर्नुपर्ने पनि बताएका छन् । ‘मलाई त बैठकको बारेमै थाहा छैन,’ नेता नेम्वाङ्गले मकालु खबरसँग भनेका छन्, ‘पार्टीको बैठक अध्यक्षको सिफारिसमा महासचिवले बोलाउनुपर्छ । त्यो मात्रै आधिकारि र वैधानिक बैठक हुन्छ । खै, मलाई त महासचिवले पनि भन्नुभएको छैन । प्रथम अध्यक्षले पनि भन्नुभएको छैन । कस्तो बैठक हो ।’

आफूलाई बैठकबारे नै जानकारी नभएको बताएका नेता नेम्वाङ्गले पेरिसडाँडाको बैठक वैधानिक नभएको जिकीर पनि गरे । ‘निर्वाचन आयोगले एउटा निर्णय गरेको छ,’ नेता नेम्वाङ्गले भनेका छन्, ‘जहाँ के भनिएको छ भने केपी शर्मा ओली प्रथम अध्यक्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो अध्यक्ष, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र महासचिव विष्णु पौडेल भनेर भनिएको छ । अनि प्रथम अध्यक्षले पनि बैठकको सिफारिस गर्नुभएको छैन । न त महासचिवले नै बोलाउनुभएको छ, कसरी बस्यो पेरिसडाँडामा बैठक ?’

यस्तै यता नेकपा सचेतकसमेत रहेकी नेतृ शान्ता चौधरीले आफूलाई पाहुनाले घरबाट ‘जा’ भन्नासाथ आफू नजाने बताएकी छन् । दाहाल–नेपाल समूहको आफूमाथिको कारबाहीको कुनै अर्थ नरहेको बताएकी नेतृ चौधरीले भनिन्, ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौँ, सुन्दर बनाउँछौँ । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् ।’

प्रतिक्रिया