जनकपुरमा आजदेखि साहित्य महोत्सव

काठमाडौँ । जनकपुरधाममा आजदेखि चार दिने ‘जनकपुर साहित्य महोत्सव’को हुँदैछ । २२ गतेसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथि छलफल गरिनेछ ।

महोत्सवको उदघाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने आयोजक नवमिथिला फाउन्डेसनले जनाएको छ । उदघाटन समारोहको प्रमुख वक्ताको रुपमा सांसद तथा उद्योगपति विनोद चौधरी रहेका छन् ।

चौधरी उदघाटन समारोहमा आफ्नो सफल व्यवसायिक यात्राको विषयमा आफ्ना धारणाहरु राख्नेछन् । त्यस्तै उदघाटन सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

साहित्य महोत्सवमा विभिन्न १५ वटा सत्रमा ४५ जना वक्ताहरुको सहभागिता रहने महोत्सवका निर्देशक दिलभूषण पाठकले जानकारी दिए ।

यस्ता छन् महोत्सवका सत्रहरु
महोत्सवको औपचारिक सत्र जानकी मन्थन शीर्षकबाट हुनेछ । जानकी मन्थन शीर्षकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, भारतका साहित्यकार डा आशा प्रभाले आ-आफ्नो विचार राख्नेछन् । डा प्रभाले जानकी माथी नै पिएचडी समेत गरेकी छिन् ।

‘जाऔँ जनकपुर सुदर्शनजीसँग’ शीर्षकमा जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग मानसी अग्रवालले कुराकानी गर्नेछिन् । मानसी केही दिनदेखि सामाजिक सञ्जालमा नेपालको पर्यटनको विकासलाई लिएर आफ्नो पृथक प्रस्तुतीका कारण चर्चामा छिन् । प्रविधि र संस्कृति विषयक सत्रमा विश्वास ढकाल र डा भोगेन्द्र झाले आफ्नो मत राख्नेछन् ।

साहित्यको सीमाञ्चल सत्रमा भारतका मनोज कुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी, जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहनेछ भने सो सत्रको सहजकर्ताको भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गर्नेछन् । ‘किताब : वर्णदेखि वस्तुसम्म’ सत्रमा कल्पना ढकाल, भुषिता वशिष्ठ, राजिवधर जोशी, गणेश लाठको सहभागिता रहने छ ।

‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसको उपसभापतिसँग सञ्चारकर्मी सुधीर शर्माले कुराकानी गर्नेछन् । यद्यपि निधि सो सत्रमा सहभागिता नजनाउने सम्भावना समेत रहेकोले सो सत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।

महोत्सवको तेस्रो दिन मैथिली मिठास सत्रमा परमेश्वर कापडि र डा कुलप्रसाद कोइराला रहने छन् । यो सत्रको प्रस्तोता बद्रीनाथ झा रहने छन् । ‘देश मधेश : गन्थन मन्थन’ शिर्षकको सत्रमा सीके लालसँग सुजित महतले कुराकानी गर्ने छन्। देशमा संघीयता आइसकेपछि प्रदेशका मुख्यमन्त्रीले काम गर्ने क्रममा भोगेका पीडाहरु उजागर गर्ने उद्देश्यले मुखियाको पीडा शीर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो विचार राख्नेछन् भने सो सत्रको सहजकर्ता दिलभुषण पाठक रहनेछन् ।

भविष्यको राजनीति र राजनीतिको भविष्य विषयक सत्रमा सांसद गगन थापा, रामकुमारी झाँक्री, रविन्द्र मिश्र, तुलानारायण साहको सहभागिता रहने छ । दर्शनमा आधारित भएर स्वतन्त्र समाज र विचारहरु विषयक सत्रमा साहित्यकार रोशन जनकपुरीसँग अमित ढकालले कुराकानी गर्नेछन् ।

महोत्सवको चौथो तथा अन्तिम दिनको पहिलो सत्र वैदेहीहरु रहने छ भने त्यस लगत्तै आआफ्नै कथा शीर्षकमा गन्थन मन्थन गरिने छ । सोही दिन ‘सिनेमाको रंग’ सत्रमा नेपाली चलचित्रका महानायक राजेश हमाल, मनिषा कोइराला, रविन्द्र झा, अनुप बराल लगायतका कलाकारहरुको सहभागिता रहनेछ ।

‘सम्पादनको सकस’ नामक सत्रमा सम्पादनको कला तथा सम्पादनको क्रममा हुने समस्याहरुको विषयमा छलफल गरिने छ । त्यस्तै, ‘अन्तरवार्ताकारहरुको अन्तरवार्ता’ विषयक सत्रमा भूषण दहाल, दिलभूषण पाठक, आरती चटौत, डा नवराज लम्सालको अन्तरवार्ता रुपेश श्रेष्ठले लिनेछन् । सोही दिन कविता सत्र तथा अन्तिम सत्रसँगै महोत्सवको समापन गरिने छ ।

प्रतिक्रिया