सीपसँगै संस्कृतिको संरक्षणका लागि ‘कर्णालीका रंगहरु’

काठमाडौं । मुगुका जेहेन्दार विद्यार्थीको सहयोगका लागि ललितपुरमा साङ्गीतिक कार्यक्रम ‘कर्णालीका रंगहरु’ हुँदैछ । कर्णाली आर्ट सेन्टरको आयोजनामा हुने उक्त कार्यक्रमबाट संकलन भएको रकम मुगुका जेहेन्दार विद्यार्थीको सीप विकासमा खर्च गरिने छ ।

कर्णाली आर्ट सेन्टरले २०१५ बाट सीपसँगै संस्कृतिको संरक्षण गर्ने उदेश्यले ‘स्कुल टू स्कुल’ परियोजना सञ्चालन गरिरहेको छ । विशेष गरी स्थानीय संस्कृति संरक्षण र संस्कृतिसँगै जोडेर उद्यमशीलको विकास गर्ने हेतुले काम गरिरहेको निर्देशक हिरा नेपालीले जानकारी दिए ।

परियोजनामार्फत मुगुका ५ सरकारी विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने तयारी छ । ‘विद्यालयमा स्थानीय गीत, नाच र अन्य लोक-संस्कृतिको ज्ञान दिइएको पाइदैन,’ उनले भने, ‘सरकारी स्तरबाट अहिले यस्तो अभ्यास नभएका बेला हामीले अभियान थालेका छौं ।’

यलमाया केन्द्र पाटनढोका आज साँझ ५ बजेदेखि सुरु हुने ‘कर्णालीका रंगहरु’मा गायिका झूमा लिम्बू र लोचन रिजालको गायन रहनेछ भने लेखक बुद्धिसागरले कविता वाचन गर्नेछन् । साथै उक्त कार्यक्रममा कर्णालीको पहिचान झल्किने चित्रहरुको पनि प्रदर्शनी रहेको छ ।

प्रतिक्रिया