पीडा भोग्ने लात्ती, तक्मा पाउने छाती

  • संकेत कोइराला

बाँस र तामा परस्पर गफिँदै थिए ।
तामा : बा ! म आकाश छेड्छु ।
बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ भएस्- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।
तामा : तपाईं त निहुरिनुभो नि त !
बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्त्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन । ज्ञान शालीन हुन्छ तर टिक्छ । प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु ।

नेपालको राजनीतिमा थुप्रै तामाहरु बाँस बनेका छन् । अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेहरुको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ । बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन् । तर नीतिशास्त्रमा सबैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरू राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन् ।

जनताको खुट्टाले दुख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएको नेताहरुको छातीले तक्मा थाप्यो । उनीहरुको कार्यशैलीमाथि प्रश्न धेरै छन्, तर उत्तर छैनन् । भएको उत्तर पनि अपुरो छ ।

नेपालमा सबैभन्दा सरल जागिर भनेको सत्तारुढ हुनु हो । त्यहाँ पुगेपछि जान्नुपर्ने एउटै कला भनेको अर्तिशास्त्र हो । प्रधानमन्त्री नै यसको महारथी भइसकेपछि अरु मन्त्रीलाई झन् हाइसञ्चो हुने भइगयो । तर दुई तिहाईका सदस्यहरु त्यही सजिलो जागिर खान पनि असफल भएका छन् । शीर्ष नेताहरुबीच गालीको प्रतिस्पर्धा छ ।

एउटाले उछितो काढेर गाली गरेको २४ घण्टा नबित्दै अर्काको प्रत्यक्ष प्रसारण शुरु हुन्छ । एउटै ताउलोमा पाकेको भात दशकौं खाएका नेताहरुको यो हविगत उनीहरुमा देखिएको प्रतिशोधी चरित्रको उपज हो । माटोले बीउ पचायो भने के हुन्छ ? हो, नेता सहनशील भएन भने त्यही हुन्छ । सरकारका हरेक कर्म त्रुटीपूर्ण हुनु र त्यो आलोचनाको प्रतिरोध गर्न नसक्नु उनीहरुको जागिर धरापमा पर्दै गएको सूचक हो । सत्तामा बस्नेलाई दुईवटा छुट छ। पहिलो राम्रो गर्ने नसके नराम्रो भएपनि गर्ने । बीचको पेण्डुलम भएर बस्ने अधिकार राजनीति गर्नेलाई हुँदैन । सिद्धान्ततः महात्मा गान्धी सर्वप्रिय थिए । तर धनी र गरीब दुवैलाई फाइदा दिन खोज्दा उनको वाद निष्फल भयो ।

राणा र राजाले खाएको सलामी बहुदलका नेतालाई पनि उत्तिक्कै प्रिय लाग्यो । राणाले जुम्लाबाट मगाएर खाने कालो मार्सीको सम्मोहनले सात दशकपछि भएपनि ओली र प्रचण्डलाई छाडेन । जब राज्यको चरित्रमा रुपान्तरण गर्ने साहस नेताहरुमा देखिँदैन भने कसरी समृद्धिको आयतन फराकिलो हुन्छ ?

गिरिजाप्रसाद, शेरबहादुर देउवाले गरेको गल्ती हामीले गर्नु हुँदैन भन्ने मनोविज्ञानले वर्तमानका मुखियाहरुलाई कहाँ लैजान्छ ? नेपाली राजनीतिका नालायक पात्रहरुलाई फेरि सम्झिएर बरु तिनै ठीकको घडीमा पुग्नुपर्ने अवस्था आउनु भनेको राजनीतिक औंसीको पर्खाइ हो । ठूला मानिस कम बोल्नुपर्छ । उनीहरु बोल्ने भनेको कामले हो । तर यहाँका ठूलाबडा सबैभन्दा बढी चटके छन् ।

प्रतिपक्षी र सत्तापक्षमा हुँदा गरिने कामका स्थायी अन्तरा छन् । तात्विक विषयवस्तुप्रति कसैको विवेचना छैन । सत्तारुढले सेतो भनेको कालो भन्नैपर्ने प्रतिपक्षीय धर्म एउटै लिक हिँडेको वर्षौं भइसक्यो ।

कम्युनिस्ट र कांग्रेस सरकारमा हुँदा उनीहरुले लिने निर्णय, काम गर्ने ढर्रा, मन्त्रीहरुका बोलीबचन, अपराधमाथिको ढाकछोप, शक्तिको दम्भ एक ईन्च फरक छैन । अरु त अरु दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्नेदेखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने ढर्रामा समेत केही अन्तर देखिँदैन । फरक एउटा छ– कम्युनिस्ट मुठ्ठी कसेर अभिवादन गर्छन्, कांग्रेस हात जोड्छन् ।

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् ।

महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरुको नाउँ कहाँ छ ? रामायणमा ती सबै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरबार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरुको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन गर्नु हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।

जीवनको स्वाद प्रकृतिसँग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सुईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा परिवर्तन भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ?

शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु वस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्योभन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ ।

मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा होइन, जिब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले होइन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरू उहिरहेकै छन् ।

बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरू छन् । त्यहीँ नजिक उठेका हिमालहरू छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झैँ हिमालयहरू छन् । रात खुम्चिँदै उज्यालो टेक्न पुग्छ ।

प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झैँ खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकाश होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफैँलाई आकर्षक बनाउने आकाश होस्, ती सबै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरू बर्साइरहेका छन् ।

जति हेर्‍यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने ऊर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ ।

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ ।

यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ । सात समूद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्वीर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं ।

सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैँ निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस्, अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि ऊ आफूमा आत्मसाथ गर्ने संवेदना हराउँदै बाँचेको छ ।

हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन । हो, मान्छे अब बाघ भालुबाट होइन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।

प्रतिक्रिया