गणेशमान सिंह स्मृति बक्सिङ सुरु

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ ।

यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिनअघिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।

सोमबारदेखि सुरु भए पनि प्रतियोगिताको उद्घाटन भने फागुन १९ गते बुधबार हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडी सहभागी छन् ।

स्व सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन् ।

तियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया