पीसीपीएस कलेजकाे तेश्रो दिक्षान्त समारोह

पाटनकलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेस्रो दिक्षान्त समारोह आयोजना गरेको छ । कलेजले यही फागुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओटमा समारोह आयोजना गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिंग र बिबिए विषयसँग सम्बन्धित कूल ६४जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै शिक्षा ऐनको संशोधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी गराए ।

यो कलेज बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसँग पनि आवद्ध छ ।

यसैगरी समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालानले सन् २०१७ स्थापित पीसीपीसीले आफूलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।

‘नेपाली विद्यार्थीहरु नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठूलो भूमिका खेलिरहेको छ,’ उनले थपे ।

समारोहमा अर्का वक्ता काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा.भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धिप्रति आफू गौरवान्वित भएको बताए ।

समारोहका विशेष अतिथि एवं एनबिसीसीआईका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कर्पोरेट क्षेत्रका चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने विश्वास व्यक्त गरे । यससँगै दिक्षित विद्यार्थीहरूलाई नेपाली श्रम बजारमा स्वागत पनि गरेका थिए ।

कार्यक्रममा एलबिइएफ ग्रुपका अफइन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाशकुमार केजरिवालले स्वागत मन्तव्य व्यक्त गर्दै स्नातक तह उत्तीर्ण विद्यार्थीहरूप्रति खुसी व्यक्त गर्दै आफूलाई गौरव लागेकोसमेत बताए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेसन विषयमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया