सोलु एफएममा आगलागी, १ करोडको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाबाट सञ्चालित सामुदायिक रेडियो सोलु एफएममा आगलागी भएको छ । गएराति १२:३० बजेको समयमा आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको रेडियोका स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार स्टूडियोभित्रबाट शुरु भएको आगोले सबै उपकरणसहित भवनमासमेत क्षति पुर्याएको छ । आगलागीको सही कारण नखुलेको भएपनि विद्युत् सर्ट भएर लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगो करिब २ घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो । नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनालगायतको सहयोगमा आयोग नियन्त्रणमा लिइएको थियो ।
योसँगै अब सोलु एफएमको प्रशारण केही समयको लागि रोकिने भएको छ । पुुनःव्यवस्थापन गर्नुपर्ने हुनाले केही समय लाग्ने व्यवस्थापन समितिले जनाएको छ ।
सोलु एफएमले विसं २०६१ सालयता निरन्तर समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा समाचार उत्पादन/प्रशारण गर्दै आएको थियो ।








