क्रिस गेलले पनि खेल्ने एभरेस्ट प्रिमियर लिग असोजमा

काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण आगामी असोजमा हुने भएको छ ।

आयोजक ईपीएल क्रिकेटले आइतबार प्रतियोगिता असोज ९ देखि असोज २३ गतेसम्म हुने जानकारी दिएको हो ।

यो मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको आयोजक ईपीएल क्रिकेटका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

अहिले प्रतियोगिताको मिति मात्र तोकिएको र बाँकी कुरा विस्तारै जानकारी दिइने उनले बताए ।

प्रतियोगिता यसअघि चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरमा गर्ने तय भइसकेको भएपनि कोभिड महामारीका कारण स्थगित गरिएको थियो ।

प्रतियोगितामा क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, केभिन ओ ब्रायनलगायत विश्वप्रसिद्ध खेलाडीले खेल्ने आयोजकले जनाएको थियो ।

उनीहरुसहित पहिले अनुबन्धित सबै खेलाडीले आउने प्रतियोगिता पनि खेल्ने निर्देशक अख्तरले दाबी गरे ।

प्रतियोगितामा ६ शहरका नाममा रहेका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रीयट्स टिम हो । ललितपुरसँगै प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया