‘डा. उप्रेतीका कारण शनिश्चरे क्षेत्रमा बसाइँ आउने क्रम बढेकाे थियाे’

  • केशवकुमार बुढाथोकी

ठ्याक्कै साल त बिर्सिएँ । २०२५/२६ सालतिरको कुरा हुनुपर्छ‚ डा. शंकरप्रसाद उप्रेती झापाको शनिश्चरेमा बसाइँ सरेर आउनुभएको । त्यसअघि उहाँ पहाड तेह्रथुमबाट झापाकै घैलाडुब्बामा झर्नुभएको थियो ।

तत्कालीन प्रधानपञ्च रामबहादुर बुढाथोकीले उहाँलाई शनिश्चरेमा बसाइँसराइ सर्न राजी गराउनुभएको थियो । उहाँजस्तो व्यक्ति आफ्नो क्षेत्रमा भए नागरिकले उपचारको सेवा सहजै पाउँथे भन्ने लोभले रामबहादुरले धेरै नै अनुरोध गरेर उहाँलाई कन्भिन्स गराउनुभएको थियो ।

त्योबेला एमबीबीएस डाक्टरको सेवा पाउनु शहरमै पनि चानचुने कुरा थिएन । गाउँमा त कम्पाउन्डरकै सेवा पाउन पनि मुश्किल थियो । उहाँ बसाइँ सरेर आएपछि शनिश्चरे र आसपासका हामी नागरिकले आफूलाई भाग्यमानी महसुस गरेका थियौँ । अझ गरिबीका कारण उपचार गराउन नसक्ने परिवारलाई उहाँको आगमन विशेष रह्यो किनभने उहाँले निःशुल्क उपचार गरिदिनुहुन्थ्यो । सुत्केरी गराउन देहातसम्म पनि जाने र आफ्नो फी नलिएर त्यस पैसाले सुत्केरीलाई कुखुरालगायत पोसिलो खानेकुरा खुवाउनु भनेर आउने गर्नुहुन्थ्यो ।

त्योबेला पहाडबाट तराईमा बसाइँ सर्ने क्रम धेरै नै थियो । झापामा ताप्लेजुङ्ग, तेह्रथुम, पाँचथर, इलाम लगायत पहाडी जिल्लाबाट मानिस बसाइँ सर्थे । डा. उप्रेतीका कारण धेरै मानिसहरू शनिश्चरे क्षेत्रमा बसाइँ सर्न थाले । स्वास्थ्य र उपचारका हिसाबले सुरक्षित भइयो भन्ने ढुक्कका कारण उनीहरु हाम्रो क्षेत्रमा आएको बताउँथे ।

उहाँ एक असल मानव र उपल्लो दर्जाको डाक्टर हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा उहाँ एकदमै मिजासिलो र आँखामा राखेपनि नबिझाउने मानिस हुनुहुन्थ्यो । उपचारका लागि भनेपछि जहाँ पनि जतिबेला पनि जान तयार हुने । कहिल्यै अल्छि नमान्ने । आधारात नभन्ने । भोकै छु नभन्ने । जतिबेला पनि तयार भइहाल्ने ।

क्लिनिकमा अत्यन्तै सुपथ मूल्यमा उपचार गर्ने । न्यून आय भएकाहरुलाई निःशुल्क उपचार गर्ने उहाँको चलन थियो । डाक्टरको सेवा त्यो पनि निःशुल्क कहाँ पाउनु त्यो बेलामा ? तर उहाँले त्यो बेला वर्षौंसम्म दिनुभयो ।

खासगरी प्रसुति सेवामा उहाँले धेरै नै सेवा गर्नुभएको छ । आधारातमा जति नै टाढाबाट बोलाउन आएपनि उहाँ घरमै पुगेर उहाँले सेवा दिनुभयो । हजारौँ प्रसुति सेवा उहाँले दिनुभएको छ । त्यो गुन त कसैले कहिल्यै तिरेर सक्दैन । म वर्णन पनि गर्न सक्दिन । मेरा चारैजना सन्तान जन्मिँदा उहाँले नै प्रसुति सेवा दिनुभएको हो ।

डाक्टरमात्र त धेरै होलान् तर उहाँको जति सरल सेवा प्रदान गर्ने डाक्टर अहिले पनि कमै होलान् जस्तो लाग्छ । त्यो बेलाको त कुरै बेग्लै भयो ।

उहाँ एक असल समाजसेवी पनि हुनुहुन्थ्यो ।

त्यतिमात्र होइन उहाँ राजनीतिक चेत भएको तथा नागरिकको हक अधिकार र लोकतन्त्रका पक्षमा आवाज उठाउने व्यक्ति पनि हुनुहुन्थ्यो ।

उहाँले नेपाली कांग्रेससँग निकट भएर निरंकुश व्यवस्थाको विरोध गर्नुभयो । जसका कारण उहाँ जेल पनि जानुपर्‍यो ।

उहाँको योगदानको कदर गर्दै कांग्रेसले उहाँलाई राष्ट्रिय सभामा लग्यो । जहाँ उहाँले नागरिकका आवाज निरन्तर उठाउनुभयो ।

उहाँका छोरा सञ्जिव उप्रेती काठमाडौंमै प्राध्यापनमा संलग्न हुनुभयो । उहाँ श्रीमतीसँगै शनिश्चरेमै हुनुहुन्थ्यो । तर, श्रीमतीको निधनपश्चात् उहाँलाई शनिश्चरेमै बसिरहन कठीन हुन थाल्यो । एक्लो महसुस भयो होला, श्रीमती गुमाउदाको पीडा धेरै नै थियो उहाँलाई । त्यसपछि उहाँ काठमाडौंमा बस्न थाल्नुभयो । आज उहाँ बितेको खबर सुनेर धेरै नै नरमाइलो लागेको छ । म आफैँ बिरामी भएर अस्पतालमा रहनुपरेकाले म जान सकिन तर साह्रै धेरै सम्झिएको छु । ‘आई रियल्ली मिस हिम ।’

एक अनमोल मणीका रुपमा रहेका डा. शंकर उप्रेतीप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

(लामो समय डा. उप्रेतीसँग सङ्गत गरेका पूर्वसांसद बुढाथोकीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया