दलित युवतीले छोएको दही खाएका आचार्य बहिष्कृत

काठमाडाैँ । खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ जेठ १८ गते आयोजना गरेको सहभोज कार्यक्रममा गएर दलित युवतीको हातबाट दही खाएको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ का ७७ वर्षीय आचार्यलाई त्यस बेलादेखि अघोषित रूपमा सामाजिक बहिष्कार गरिएको हो ।

सामाजिक बहिष्करणका कारण मानसिक पीडामा परेका आचार्यलाई त्यसबाट मुक्ति दिन र आवश्यक सुरक्षा मिलाउन आयोगको प्रदेश शाखा कार्यालय (खोटाङ) ले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो । घटनाबारे सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन र नगरपालिकालाई अनुरोध गरिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले जानकारी दिए ।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गरी पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने धारणा सार्वजनिक गरेको हो । जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भई दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण भइरहेको तथ्य प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले उल्लेख गरेको छ ।

घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएका आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए । घरमा कुशेऔंशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ ।

समाजमै अघोषित बहिष्कार गरिएको भन्दै आचार्य न्यायको याचनासहित २०७६ भदौ ३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए। मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि दोषीलाई कारबाही भएको छैन । रासस

प्रतिक्रिया