दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई

इटहरी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता योगेशकुमार भट्टराईले दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । शनिबार प्रेस संगठन नेपाल, प्रदेश नं. १ लाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यस्तो दाबी गरेका हुन् ।

नयाँ सरकार कसरी बन्छ भन्नेबारे त्यति नखुलाएका नेता भट्टराईले थप भनेका छन्, ‘अग्रगमनको आन्दोलन हाम्रै दलको नेतृत्वमा हाँकिनेछ । २३ गते शुरु हुने प्रतिनिधि सभाले नयाँ प्रक्रियाबाट सरकार बनाउनेछ ।’

यद्यपि नेता भट्टराईकै अभिव्यक्तिअनुसार सरकार बन्ने वातावरण भने कम छ । किनकी, संसद्मा दाहाल–नेपाल समूहसँग सरकार बनाउन पुग्ने बहुमत छैन । यो विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निर्णायक रहनेछ । यद्यपि पनि नेता भट्टराईले आफूहरुकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

यसैबीच नेता भट्टराईले आफ्नो नेतृत्वमा बनेको सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने कुनै कानून नल्याउनेसमेत बताएका छन् । भट्टराईले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकता हुनेसमेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया