मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पठाओ [कथा]

शनिबारीय कोशेली

  • अज्ञात युवक

सहरको व्यस्त चोक । थर्कन्छ गोजीभित्रको मोबाइल । लाग्छु किनारा । उठाउँछु फोन । सकिन्छ कुरा । मोबाइल राख्छु सुरक्षित । भेट्न खोज्छु गन्तव्य ।

‘खाली हो ?’ अपरिचित नारीको आवाज ।
‘हजुर ।’ बुझिन सायद ।
‘हतार छ, छिटो है ।’ बस्छिन् पछाडि र दिन्छिन् आदेश छिटोको ।
अगाडि बढाउँछु चुपचाप । मौन प्राणी हामी । गन्तव्य पछ्याउँदै छ बाइक ।
‘बालुवाटार जाने, कता लाग्नुभएको ?’ मेरो मार्ग पछ्याउँदा आउँछ आवाज ।
‘सरी, मेरो गन्तव्य त यता हो त ।’
‘दुईपाङ्ग्रे सेवाप्रदायक हैन तपाईं ?’
‘हैन ।’
‘सरी म त हतारमा थिए, सेवाप्रदायक भनेर ।’
‘केही छैन हतार नै भए यहाँबाट यो सेवाको पनि अनुभव बटुल्छु ।’
‘दुःख दिए नि यहाँलाई ।’
‘केही छैन ।’
थाल्छ पानी पर्न ।
‘कतै ओत लागौँ कि ?’
‘हैन त्यहीँ अगाडि हो, उहीँ पुगेर ओत लागौँला ।’

भिजाउँछ पानीले निथ्रुक्कै । रोकिन्छ बाइक गन्तव्यमा पुगेपछि । झर्छिन र हतारिएर भित्रिन्छिन् उनी । ओत लाग्छु बरन्डामा । थपिँदै छ वर्षा । नियाल्छु आकाश । देखिँदैन रोकिहाल्ने अवस्था । ज्याकेट खोलेर झार्छु पानी । भिजेछ पेन्ट पनि । टकटक्याउँछु । मोबाइलले समाउँछ गेम । समय कुर्छु पानी रोकिने क्षणको । औँला गेममा छ केन्द्रित । मन पानी रोकिनेमा । जित्छु दस मिनेटको गेम । एकनास छ पानी । सुरु गर्छु अर्को गेम । बित्छ समय तर रोकिँदैन पानी । उठ्छ रिस आफैँदेखि । बाहिरिन्छिन् अघिकी मेरी पेसेन्जर ।

‘भित्रै बोलाएको थिएँ, हजुर त बाहिरै बस्नुभएछ । भित्रै बस्नोस् न ।’
सुनिनछु । हुन सक्छ केही असहजले पनि ।
‘आउनोस् न आउनोस्, केही अप्ठ्यारो मान्नु पर्दैन ।’

लाग्छ केही धक तर पनि लागिरहेछु पछिपछि । उक्लिएँ तला । पसेँ सुविधासम्पन्न बैठकमा । बस्छु आदेशमा ।
‘म पनि कस्ती, माफ गर्नोस् है । यहाँलाई दुःख पनि दिए र पानीमा पनि भिजाएर राखेँ ।’
‘हैन, केही छैन ।’
‘एउटा नम्बर पठाउनुपर्ने थियो जतिसक्दो चाँडो । कोठामै भएकाले हतारिएको थिएँ । हजुरले सहयोग गर्नुभयो तर हजुरलाई …।’ पूरा हुँदैन वाक्य । मेरो आवाजले दिन्छ सान्त्वना ।
‘माइन्ड नगर्नोस् ।’
‘चियामा चिनी कति राखौँ हजुर ।’
‘चियाभन्दा नि उमालेको पानी भए राम्रो ।’ पोखिन्छ तिर्खा र चिसो पनि ।

नियाल्न थाल्छु कोठा । छरपस्ट छन् टेबुलमाथि केही साहित्य । ठोकिन्छ आँखा सोफामा लडिरहेको ‘सेतो धरती’ मा । सम्झन्छु त्यसका पात्रहरूलाई । फेरि पढ्ने पलाउँछ चाह । स्पर्श गर्छ मेरा हातले किताबलाई । पस्छिन् उनी कोठामा पानीका गिलास लिएर । सचेत हुन्छु म ।
‘साहित्यको पुजारी हुनुहुँदो रहेछ हजुर, खुसी लाग्यो ।’
‘समय कटाउने साधन भएको छ मेरा लागि साहित्य र मन बहलाउने साथी पनि ।’
‘केही लेख्नु पनि हुन्छ कि पढ्ने मात्र ?’
‘धन्य भएँ म, तपाईंले सम्झाउनु भएर सम्झिएँ । अब प्रयास गर्नेछु ।’
‘आशा छ राम्रो लेख्नुहुनेछ ।’
‘आभारी छु हजुरप्रति नयाँ मार्ग पहिल्याइदिनुभएकोमा ।’
‘धन्यवाद ।’

‘एकछिन ।’ उनी बाहिरिन्छिन् कोठाबाट । म कोठालाई पढ्छु मनभरि । ठोकिन्छन् आँखाहरू हरेक सामानहरूमा । स्पर्श गरिरहन्छ आँखाले हरेक वस्तुलाई ।
‘खाजा लिऊँ न ।’ गहिरिएछु म कोठाको सजावटमा ।
‘किन दुःख गर्नु भा ?’
‘मेरा लागि हजुरले मार्ग त परिवर्तन गरेर यहाँसम्म ल्याइदिनुभयो । चिया, खाजा नखुवाई कसरी पठाऊँ ।’
‘यति मीठो खुवाउनुभो भने त म सधैँ खान आइरहनेछु नि ।’
‘मेरो अहोभाग्य, यति मिलनसार साथी पाएकोमा ।’ दाँतले आफ्नो कर्तव्य निभाइरहेछ यतिखेर । उनी पस्छिन् कपमा चिया लिएर ।

‘फाइदा त मलाई पो भयो त यति मीठो चिया, खाजाले ।’
‘खुसी लाग्यो खाइदिनुभयो ।’
हतारिन्छु बाहिरिनलाई । हुँदै छ बाहिर पानी केही कम । सक्छु चियाको अन्तिम घुटको पनि ।
‘धन्यवाद यति मीठो खाजाका लागि । बिदा भए अब ।’
‘आभारी छु हजुरप्रति । आज ठूलो सहयोग पाएँ हजुरबाट ।’
निस्कन्छु कोठाबाट । सँगै छिन उनी बिदाइका लागि । खोज्छु ज्याकेट लगाउन ।
‘एक मिनेट ।’ भित्रिन्छिन् उनी र बाहिरिन्छिन् तुरुन्तै जस्तो हातमा ज्याकेट लिएर ।
‘त्यो चिसो नलगाउनोस्, यो लगाएर जानोस् । किनेर राखेको मात्र थिएँ, यसले आज हजुरको शरीर पर्खेको रहेछ ।’

केही अनकनाउँछु म ।
‘समाउँछु र लगाउँछु ज्याकेट । बाहिरिन्छु ।
बिहान अफिस जान लुगा लगाउँदा देख्छु ज्याकेट र सम्झन्छु पु¥र्याउनुपर्ने कर्तव्य । रहेँ हतारमा । थाती राख्छु साँझलाई । साँझ एउटा मिटिङले खान्छ समय । अर्को बिहान पनि आउँछ हतारमा । बेलुका फर्कन्छु केही चाँडो र पस्छु त्यो कोठामा ।

‘नमस्कार, म नासो फर्काउन हाजिर छु ।’ हात सलबलाउँछन् ज्याकेट खोल्न ।
‘नमस्कार । भित्रै बसौँ न ।’
‘होइन म हतारमा थिएँ । केवल यो छोड्न मात्र ।’
‘सायद एउटा साथी पाएको सोचेको थिएँ यो सहरमा । तर म भ्रममा रहेछु ।’ बढाउँछिन् हात ज्याकेट समाउनलाई । किनकिन मेरा हात हट्छ पछि । पाइला अघि सर्छ कोठातिर ।
‘माफ गर्नृुहोला ।’
‘केही छैन ।’
‘धन्य भएँ म ।’
‘धन्य त म पो भएँ, सम्झिएर आउनुभयो । खाजा के बनाऊँ ।’
‘होइन ।’
‘नाइँ, मुख बिटुलो जान पाउनुहुन्न । मैले केही लेख्न थालेँ नि यी ।’ थमाउँछिन मेरो हातमा कपी । बाहिरिन्छिन् । पछि चिया र खाजा लिएर खडा हुन्छिन् मसामु । व्यस्त छु म उनका लेखाइ नियाल्नमा । सम्भावना देख्छु एउटी साहित्यकारमा ।

‘राम्रो छ । सक्नोस् पछि हेरेर मिलाउँला ।’
‘खुसी छु म । राम्रो भएन कि भन्नेमा थिएँ । हजुरले राम्रो भनिदिनुभयो । यही नै मेरा लागि ऊर्जा भयो ।’
‘लेख्नोस् निखार आउनेछ ।’
‘धन्य भएँ म ।’
चिया, खाजा रित्तिन्छ कप र प्लेटमा । माग्छु बिदा ।
‘बिदा पाउँथे कि ?’
‘पछि फेरि स्वागत गर्न पाउँछु कि ।’
‘सायद ।’
समय बगिरह्यो आफ्नै रफ्तारमा । बिर्सिएछु व्यस्तताले गर्दा । बाहिरिएँ अफिसबाट । सधैँको उही मार्ग । उही चोक । पठाओ भएको चोक । त्यही रहेछिन उनी, सायद कसैलाई कुरिरहेकी । मलाई देख्नेबित्तिकै दिन्छिन हात । चिन्छु केही अघिबाटै । रोकिन्छु उनीसामु ।

‘नमस्कार ।’
‘नमस्कार । मेरा आँखा टट्याए नि । हजुरको आगमनी कुर्दा ।’
‘ओ सरी । सायद व्यस्तताले बिर्सिएछु । माफ गर्नुहोला ।’
‘हिजो नि कुरेँ नि यहाँ, आज नि !’
‘हिजो म ढिला भएँ ।’
‘बस्नोस् ।’
‘मैले लेखिसकेको थिएँ, हेरिदिनुहुन्छ कि भनेर ।’
‘घर जानुहुन्न ? बस्नोस् न ।’ ब्यागबाट कपी निकाल्न खोज्दै थिइन् ।
‘हजुरलाई फेरि दुःख ।’ बस्छिन् पछाडि ।
उनको कोठाअगाडि पुगेर रोकिन्छ बाइक ।
‘आज म हतारमा छु । दिनोस् कपी ।’
‘नपस्ने र ?’
‘हेर्नोस् यति व्यस्त छु कि… ।’
‘हेर्न त भ्याउनुहुन्छ नि ?’
‘जरुर ।’

‘मिलाइदिनु पनि हुन्छ कि भन्ने आशा राखेकी छु ?’
‘हुन्छ ।’
‘यो राम्रो भए किताबै निकाल्न पाए हुन्थ्यो । खर्च जति लागे पनि निकाल्ने रहर छ ।’
‘हुन्छ, म कोसिस गर्छु ।’
‘जेजे गर्नुपर्छ हजुरकै जिम्मा । रकम कति लाग्छ । पछि पसेर लग्नुहोला । मलाई किताब बनाएर दिनुभएमा आभारी हुने थिएँ ।’
‘जरुर । हस् त बिदा भएँ ।’
‘रकम चाहिएपछि भन्नुहोला ।’
‘बाई ।’

सम्पादनको मेरो काम आएकोमा खुसी छ मन । थियो सम्पादन नै मेरो पेसा । सुरु गर्छु टाइप । रातले पनि रुचाउँछ व्यस्तता । अन्य कामका पनि चाङ भएकाले रातलाई खलबल्याइरहन्छु म । सकिन्छ टाइपसँगै सम्पादन पनि केही । अब सुरु हुन्छ पूर्ण सम्पादन । भावले गाड्छ जरा । उनकै रहेछ कथाव्यथा । बिछोडिएको प्रेमकथा । रहेछ केटाको नाम ठेगाना सबै । बनाइदिएँ केही काल्पनिक जस्तो पनि । अफिस र नामले केटालाई थालेँ पछ्याउन । सम्बन्ध बन्यो मित्रताको । बिस्तारै बढ्यो घनिष्ठता केटासँग पनि । उता लियो किताबले आकार । रकममा पो फस्ने हो कि भन्ने भ्रमले जमायो डेरा । पुगेँ एक साँझ । देखाएँ किताबी रूप । चाहिने रकमका लागि भोलिले राख्यो भाका । अर्को साँझ पुगेँ रकमका लागि ।

‘नमस्कार उपन्यासकारज्यू ।’ फुक्र्याउँछु । सायद यसरी फुक्र्याउन नपर्ने बनेको थियो किताब । पहिलो प्रयास भन्न नमिल्ने रूप पाएको थियो उपन्यासले ।

‘नमस्कार । यो सब हजुरको प्रतिफल हो । मेरा लेखाइभन्दा धेरै राम्रो बनाइदिनुभएछ हजुरले । हजुरको यो ऋण कसरी तिरौँ म ।’
‘म त माध्यम न हुँ ।’

खाजा, चियापछि थाप्छ रकमले हात । बाहिरिन्छु विमोचनको मिति लिएर आउने बाचामा ।
छापिन्छ उपन्यास । तयार हुन्छ किताब । हुँदै छ अबको चौथो दिन सबै तयार । एक कपी लिएर पुग्छु मेरो मेहनत देखाउन । अपजस पनि खान छु हतार । धेरै खुसी पाउँछु उनीलाई । आज सोमबार । तयारी हुन भन्छु अबको शुक्रबारलाई । जनाउँछिन् ओके । तय हुन्छ विमोचन उनीकै अफिसमा गर्ने । १५० कर्मचारीमाझ हुने भयो विमोचन । हुने भयो विमोचन हाकिम र मबाट संयुक्त रूपमा ।

चाहेँ मैले निम्त्याउन यस उपन्यासका खल पात्रलाई पनि । जो भएको थियो मेरो साथी । उसलाई पनि दिएँ निम्ता । प्रकाशकमा बिनाहिचकिचाहट राखेकी थिइन् मेरो नाम । राजी भयो ऊ प्रकाशक साथीको खुसीमा सामेल हुन ।

शुक्रबार तीन बजेपछिको समय बन्यो सबका लागि उत्तम । प्राय कार्यालय तीन बजे छुट्टी ।
शुक्रबार । तीन बजे पुग्छु म । बाहिरका निम्तालु कम, सबै उनकै अफिसका कर्मचारी । फूलको गुच्छाले हुन्छ स्वागत । विवेक आज विमोचन हुने कृतिको खल पात्र । मेरो अभिन्न मित्र । ऊ आउँदा कार्यक्रम सुरु हुन आँटेको थियो तीन तीसमा । दर्शकदीर्घामा राख्न भ्याउँछु मात्र । स्टेजमा आसन ग्रहणका लागि आउँछ मेरो नाम । पछि भेट्ने बाचामा पुग्छु स्टेजमा । आसन ग्रहण, माल्यार्पण, दीप प्रज्वलन अनि कृति विमोचन ।

प्रकाशक म र कृतिकारको बोसबाट संयुक्त रूपमा हुन्छ विमोचन । गर्व गर्छु ठूलै मान्छे भएकोमा । लेखकबाट आउँछ सारगर्वित मन्तव्य । समीक्षात्मक मन्तव्य पनि परेको थियो मेरो भागमा । साहित्यमा एक उल्लेखयोग्य कृतिको प्रकाशन भएको र यस कृतिका पात्रहरू यही जोकोहीसँगको पनि जीवनसँग मेल खाने र मेल खाएमा संयोग हुने र बाँकीका लागि कृतिको अध्ययन नै उत्तम हुने व्यहोरा आउँछ मेरो मन्तव्यमा । अन्त्यमा किताब किन्न र लेखकको हस्ताक्षर लिनका लागि अनुरोध गर्दछु म प्रकाशकका नाताले । सभा विसर्जन र चियापान । देखिन्छ किताब किन्ने लाम र हस्ताक्षरका लागि भीड । केहीले मेरो पनि लिन्छन् कृतिमा हस्ताक्षर । चियापान सकेर विवेक मनजिक आउँछ र लिन्छ हस्ताक्षर । लेखकको हस्ताक्षर लिनका लागि लग्छु । ऊ जान मानेको थिएन लेखिकामाझ । बाध्य भयो मेरो अनुरोध स्विकार्न ।

राख्छु किताब हस्ताक्षरका लागि । पुलुक्क हेर्छिन् लेखिका मेरो मुहारमा ।
‘हजुर ।’
‘म हैन म्याम, मेरो साथी विवेक । विवेकजी उहाँ लेखिका चिनिहाल्नुभो नि ।’ गराउँछु परिचय ।
‘विवेक तिमी !’ खुसीका साथ ।
‘सन्ध्या ।’ अर्को खुसी विवेकको ।
‘तपाईंहरू एकअर्कामा परिचित नै हुनुहुँदो रहेछ । बेकार मैले चिनाइछु ।’
‘हो मित्र, हामी परिचित छौँ ।’ स्विकार्छ विवेक ।
भीडले गर्दा पछि हट्न बाध्य हुन्छौँ हामी । विवेक बाहिरिन्छ सन्ध्यासँग साँझ भेट्ने बाचाका साथ, अहिले एउटा मिटिङ भ्याउन निस्कियो ऊ ।

सकिन्छ कार्यक्रम । १४७ थान पुस्तक बिक्री भएको रकम बुझ्छु म । कार्यक्रम सकेर बाहिरिन्छौँ हामी । उनीलाई घरसम्म छोड्न पुग्छु म । बाटामा सब बताउँछिन् उनी । उनको जीवनको कथा र विवेक उपन्यासको नेगेटिभ पात्र भएको कुरा । अहम्ले नै गाँजेको रहेछ उनीहरूलाई । कोठाअघि रोकिन्छ बाइक ।

‘बिदा भएँ म ।’
‘कहाँ हुन्छ नपसी जानलाई ।’
पस्छु कोठामा । आइपुग्छ चिसो ।
‘चिसो आज ?’
‘मेरो तातेको दिमागलाई शीतल बनाइदिनुभयो त्यसैले ।’
‘कसरी ?’ ‘विवेकसँग पुनर्मिलन गराउनुभयो, म जहिले ऊसँग भेटिँदा पनि उसलाई जित्न खोज्थेँ । पछिल्लो समय ऊ अगाडि परेको नै मन पर्दैनथ्यो । किनकी म उसलाई जित्न चाहन्थेँ ऊ मलाई । मैले उसको आवाजलाई दबाइरहेँ । म ऊसँग जित्न चाहन्थेँ । आज हारेँ । कति सजिलै मेरो मुखबाट मायालु शब्द विवेक खस्यो । सायद आज ऊ मभन्दा बढी खुसी भएको हुनुपर्छ । मिटिङ सकेर आउँछु भनेको छ । मैले पनि स्वीकृति दिएको छु । ऊ आउनेछ । मेरो प्रेम फर्कनेछ । सायद त्यस दिन तपाईंलाई पठाओ सम्झिएर नभेटेको भए मैले फेरि मेरो विवेक पाउने थिइनँ । म उपन्यासकार हुने थिइनँ । तपाईंजस्तो सहृदयी पुज्य व्यक्तित्व पाउने थिइनँ । तपाईंले खेलेको यो भूमिका सब बुझेको छु सर । तपाईंको यो गुन म जन्मजन्मान्तरसम्म पनि तिर्न सक्ने छैन । ऋणी रहेँ तपाईंप्रति । कसरी तिरौँ यो ऋण ?’

‘केही सत्कर्म गर्न सकिछु । यही नै मेरा लागि ठूलो भयो ।’
‘धन्य भएँ । आभारी छु हजुरप्रति र रहिरहनेछु ।’
‘बिदा भएँ म । यो बिक्रीबापतको रकम ।’
‘नाइँ, त्यो हजुर नै राख्नोस् । योभन्दा ठूलो ऋणी छु । म मेरो विवेकलाई कसरी स्वागत गर्ने तयारीमा लाग्नेछु ।’

‘बाई ।’
‘बाई ।’
त्यहीँ छुटेको पठाओको रूप देखिने त्यो मेरो ज्याकेट सम्झँदै बाहिरिन्छु त्यहाँबाट । केही राम्रो काम गरेछु भन्ने सम्झँदै ।

©[email protected]

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com