फुटकर लेखनले शिल्प र विकसित भयो भन्ने लागेपछि पुस्तक छाप्ने निधो गरेँ : सुरेश बडाल

काठमाडौं । सुरेश बडालको पहिलो पुस्तकाकार कृति रहर (कथासंग्रह) शनिबार सार्वजनिक हुँदैछ । पुस्तकका रुपमा आफ्ना सिर्जना पाठकमाझ ल्याउने बर्षौंदेखिको सपना साकार हुन लागेकोमा आफूलाई अलिअलि डर, कताकता कौतुहलता र रोमाञ्चक अनुभुति भइरहेको बडाल बताउँछन् । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक शनिबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी सार्वजनिक गर्न लागिएको हो । कार्यक्रममा पुस्तकका बारेमा अमर न्यौपाने र प्रकृति भट्टराई बस्नेतले बोल्नेछन् ।

पुस्तक र लेखनीका बारेमा लेखक बडालसँग मकालु खबरले कुराकानी गरेको छ ।

रहरमा मुलत: कस्ता विषय समेट्नुभएको छ ?
यो कथासंग्रह हो । यसमा बालापनदेखि किशोर हुँदै युवावयसम्मका अनुभूति, मनोविज्ञान, प्रेम, विछोड, आकर्षण, यौनिक परिवर्तनका कथाहरू छन् । साथसाथै समाज र राजनीतिका विषयहरू पनि दस्तावेजिकरण गरिएका छन् । भाषा सरल छ र हरेक उमेरका, हरेक खालका पाठकहरूले मन पराउने खालका कथाहरू छन् भन्ने मेरो दाबी छ । भन्नुको मतलब आक्कलझुक्कल मात्र पढ्ने वा कहिल्यै नपढेका वा पढ्ने बानी परिसकेका सबैका निम्ति भनेर यो कथा संग्रह तयार पारेको छु ।

तपाईं फुटकर लेखिरहनुभएको थियो‚ त्यसलाई पुस्तकको स्वरुपमै प्रकाशन गर्ने सोच चाहिँ कसरी आयो ?

फुटकर लेखिरहे पनि म किताबकै काममा लागिपरेको थिएँ । तर जब फुटकर लेखनले ममा शिल्प र शैली केही विकसित भयो भन्ने लाग्यो र फुटकर लेखमा जस्तो हजार पन्ध्र सय शब्दमा भनिसक्नुपर्ने कुरा भन्न अलि बृहत फर्म्याट चाहिन्छ भन्ने लाग्यो अनि पुस्तकको स्वरूप तयार भयो ।

पुस्तक लेख्नु जोखिम मोल्नु पनि हो भनिन्छ‚ नयाँ लेखकका लागि अझ । कत्तिको डराइरहनुभएको छ वा उत्साहले फुरुङ्ग हुनुहुन्छ ?

जोखिम त हो नै किनकी फुटकर लेख आज पढेपछि भोलि, पर्सी या अर्को हप्तापछि त्यसको चर्चा र उपादेयता हराउने हुन्छ तर पुस्तक त चीरकालसम्म बाँचिरहन्छ । पुस्तकका विषय र अझ आख्यान, कथाका पात्रहरूले त आजको पुस्ताका साथै छोराछोरी र नातीनातीनाको पुस्ताहरूमा पनि प्रभाव पार्नुपर्ने हुन्छ । यसकारण कस्तो प्रतिक्रिया आउला, आफूले भन्न खोजेको कुरा पाठकसम्म कनेक्ट होला कि नहोला भनेर केही कौतुहल त अवश्य जागेको छ । लेखनको फराकिलो दुनियाँमा आधिकारिक रूपमै प्रवेश गर्न लाग्दा मजस्तो नयाँ मान्छे उत्साहित त हुने नै भयो ।

पुस्तक धेरै मन पराइयो भने फुटकर लेखनी छोड्नुहुने पो हो कि !

फुटकर लेखन अभ्यास हो भने पुस्तक प्रकाशन म्याच डे हो जस्तो लाग्छ मलाई । ठूला टुर्नामेन्ट अगाडि पनि उही जोश र अझ बढी तन्मयका साथ खेलाडीहरू अभ्यास गरिरहेका हुन्छन् नै । त्यसैले अभ्यास नै भनौँ, आफूलाई भन्न मन लागेका विभिन्न मुद्दाहरूमा बेलाबेलामा लेखिरहने नै छु ।

प्रतिक्रिया