जी२० का अर्थमन्त्रीहरुबीच कमजोर मुलुकलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल

काठमाडाैं । विश्वका प्रमुख २० औद्योगिक राष्ट्रका अर्थमन्त्रीहरुबीच कमजोर मुलुकहरुलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल हुने भएको छ।

इटालीको अग्रसरतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ बाट सिर्जित विविध विषयमा छलफल हुन लागेको हो।

कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको असर तथा खोप अभावमा छटपटाइरहेका मुलुकलाई सहयोग गर्ने बारेमा बैठकमा छलफल हुने बताइएको छ।

बिहीबार, अमेरिकी प्रशासनले धनी जी२० मुलुकसमक्ष विश्वासिलो, संगठनात्मक खोप अभियान प्रारम्भ गर्न आग्रह गरेको छ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले जी२० का अर्थ मन्त्रीहरुलाई खुला पत्र लेख्दै खोपको पहुँच बेगर खासगरी न्यून आय भएका मुलुकहरुमा अझ बढी मानिसको मृत्यु हुने र आर्थिक पुनरुत्थानमा पनि अझ ढिलाई हुने बताएका छन्।

अर्थमन्त्री येलेनले विगतका आर्थिक संकटका दिनहरुमा प्रयोगमा ल्याइएको एसडीआरलाई पुनर्जीवित गर्नेतर्फ पनि विचार गर्नुपर्ने बताए। जी२० मा आबद्ध धेरै मुलुकले यसको प्रयोग पुनः गर्नुपर्ने सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया