टेस्ट च्याम्पियनसिपकाे फाइनल पुग्ने भारतकाे सम्भावना बलियाे

एजेन्सी। भारतले टेस्ट च्याम्पियनसिपमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु भुमिमा चलिरहेको तेश्रो टेष्टमा इग्ल्याण्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै भारत विश्व टेस्ट च्याम्पियनसिपमा प्रवेश हुने सम्भावनालाई बलियो भएको हो ।

जितसँगै चार खेलको शृँखलामा भारतले २–१ को अग्रता लिएको छ । अन्तिम तथा चौंथो टेस्टमा इग्ल्याण्डलाई बराबरीमा मात्रै रोक्न सकेमा पनि भारत विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्नेछ ।

न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा यसअघि नै प्रवेश गरिसकेको छ ।
लगालग विकेट झरेपछि रोमाञ्चक बनेको तेश्रो टेस्टको छिनोफानो दोश्रो दिनमा नै भएको हो । ४९ रनको सानो लक्ष्य भारतले विना क्षति भेट्टाएको हो । भारतका लागि रोहित शर्मा २५ र शुबम गिलले १५ रनमा अविजित रहे ।

पहिलो पालीमा भारतले इंग्ल्यान्डलाई मात्र १ सय १२ रनमा अल आउट गराएको थियो इंग्ल्यान्डका चार खेलाडीले मात्रै दोहोरो अंकको स्कोर गरेको पहिलो पालीमा ज्याक क्रावलीले सर्वाधिक ५३ रन बनाए ।
भारतका स्पिनर अक्षर पटेलले ६ विकेट लिए । तर पहिलो पालीमा भारतले पनि गतिलो ब्याटिङ भने गर्न सकेन । ऊ मात्र १४५ रनमा अलआउट भयो ।

भारतका रोहित शर्माले ६६ रन बनाए । इग्ल्यान्डका कप्तान जोय रुटले पाँच र ज्याक लिचले चार विकेट लिए ।

पहिलो पालीमा ३३ रनले पछि परेको इंग्ल्यान्डले दोस्रो पालीमा पनि ब्याटिङ सुधार्न सकेन । बरु, लाजमर्दो प्रदर्शन गर्दै इग्ल्याण्ड दोश्रो इनिङ्मा मात्र ८१ रनमा समेटियो ।

इंग्ल्यान्डका तीन खेलाडीले मात्रै दोहोरो अंकमा स्कोर गर्न सकेको दोश्रो पालीमा बेन स्टोक्सले बनाएको २५ रन सर्वाधिक भयो । इंग्ल्यान्डलाई कम योगफलमा समेट्न भारतका अक्षर पटेल फेरि पनि नायक बने । उनले पाँच विकेट लिए भने रबिचन्द्रन अश्विनको नाममा चार विकेट रह्यो ।

भारत र इंग्ल्यान्डबीचको चौंथो टेस्ट क्रिकेट मार्च ४ मा शुरु हुनेछ ।

प्रतिक्रिया