नेकपा नाम कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामको आधिकारिताबारेको विवाद फागुन २० गते टुंगो लाग्ने भएको छ ।
सर्वोच्च अदालतमा परेको मुद्दामा बिहीबार सुनुवाई सकिएपछि इजलासले फागुन २० गते निर्णय सुनाउने (निसु) को मिति तोकेको हो ।
नेकपाको नामबारेको मुद्दा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई सकिएको हो ।
आफ्नो पार्टीको नामसँग हुबहु नाम राखेर दर्ता गरिएको भन्दै नेकपाका अध्यक्ष ऋषीराम कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा नयाँ दल बनाई आयोगमा दर्ता गरिएको थियो । आयोगमा त्यसअघि नै कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता भइसकेको थियो ।
आयोगले शक्तिको आडमा पहिल्यै दर्ता भइसकेको दलको हुबहु नाममा अर्को दल दर्ता गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजनको सन्दर्भ चलिरहेका बेला सर्वोच्चले नामको विवाद निरुपण गर्न लागेको हो । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।








