पशुपतिमा राष्ट्रपतिद्वारा जलहरी अनावरण‚ सर्वोच्चले भन्यो- तत्काल नराख्नू

काठमाडौं । पशुपतिनाथको मूलमन्दिरमा रहेको शिवलिङ्गमा सुनको जलहरी (स्वर्ण पीठिका) राख्ने विवाद फेरि चर्किएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जलहरी स्थापना गरेकै दिन सर्वोच्च अदातलले जलहरी राख्ने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएपछि विवाद बढेको हो ।

पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्ने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा दुईवटा रिट परेका थिए । तर, रिटबारे फैसला नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइरालालगायत पशुपति मन्दिर पुगेर बुधबार पूजाआजा गरेका थिए ।

सर्वोच्चमा परेका रिटको निरुपण नहुँदै राष्ट्रपति भण्डारी सरिक भएर पूजा अर्चना गरेकी हुन् ।

पशुपतिमा सुनको जलहरी राख्ने विषय कानुन र परम्पराविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा कोषका पूर्वकोषाध्यक्ष तथा संस्कृतिविद् नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले रिट दायर गरेका हुन् ।

जलहरी राख्न नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका वैद्यले अदालतको आदेशको लिखत पत्र पशुपतिको मूल भट्ट र भण्डारीलाई बुझाएको मकालु खबरलाई जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषमा कोही पनि कर्मचारी नभएपछि मन्दिरका भट्ट र भण्डारीलाई पत्र बुझाएको वैद्यको भनाइ छ ।

वैद्यले बुधबार साँझ आफू पशुपतिनाथमा पुग्दा पूजा तथा सम्मानपत्र वितरणको काम गरिएपनि जलहरी भने राखी नसकिएको दाबी गरे । ‘म अहिले पशुपतिनाथ मन्दिरमै छु, जलहरी तयार पारिएपनि राखिसकिएको छैन‚’ मकालु खबरसँग फोनमा उनले भने, ‘अब अदालतको फाइनल आदेश नआउन्जेल त राख्नै मिलेन नि ।’

कोषका सदस्य सचिव डा. प्रदीप ढकाल तथा कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको मोबाइल फोन स्वीच् अफ भएका कारण सम्पर्क हुन सकेन ।

सर्वोच्चले बुधबार अन्तरिम आदेश दिँदै फागुन १७ गतेसम्म सबै प्रतिवादीलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

शिवलिङ्गमा सुनको जलहरी राख्न नहुने विवाद एकातिर छ भने केही धर्मशास्त्रविद्ले अहिले शुक्र अन्ध भएको बेलामा पूजाआजा र शुभकार्य गर्न नहुने तर्क पनि गरेका छन् ।

पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ र राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा बुधबार बिहान पूजा एवं प्राण प्रतिष्ठा गरेको कोषले जनाएको छ।

प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ । विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उनले जानकारी दिए ।

विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले दाबी छ ।

प्राणप्रतिष्ठापछि राष्ट्रपति भण्डारीले राष्ट्रको शान्ति र अमनचयनका लागि सङ्कल्प प्रार्थना गरेकी थिइन् ।

पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ। यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब एक अर्ब रुपैयाँ लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट ३० करोड रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया